काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी विचार, नाम र राजनीतिक मुद्दाका दृष्टिकोणले नेपालकै सबैभन्दा नयाँ शक्ति भएको दाबी गरेका हुन्। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
उनले नयाँ हुनुको अर्थ केवल पुरानाको विरोध गर्नु नभई अग्रगामी विचार र एजेण्डा बोक्नु भएको स्पष्ट पारे । दाहालले उपत्यकाभित्र रहेका विभिन्न क्षेत्रका मतदाताहरूलाई निर्वाचनमा सहभागी गराउन र नामावली भएको स्थानमा केन्द्रित गर्न कार्यकर्ताहरूलाई योजनावद्ध र संस्थागत रूपमा लाग्न निर्देशन दिए ।
उनले यसको प्रत्यक्ष प्रभाव निर्वाचनको परिणाममा पर्ने भन्दै आजैदेखि तयारी थाल्न आग्रह गरे । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संवाहक र उत्पीडित वर्ग, जाति, तथा समुदायको पहिचान स्थापित गर्ने मुद्दा आफ्नो पार्टीको मुख्य आधार भएको बताए ।
दाहालकाअनुसार यो विचारभन्दा नयाँ र उन्नत विचार हाल नेपालको राजनीतिमा अन्य कसैको पनि छैन । अहिले सामाजिक सञ्जालमार्फत ‘नयाँ’ हुनुको गलत भाष्य निर्माण गर्न खोजिएकोमा उनले आपत्ति जनाए ।
उनले भने,’विचारको हिसाबले भन्ने हो भने पनि यो पार्टीको भन्दा नयाँ विचार अरू कसैको पनि छैन। संघीय लोकतान्त्रिक गणतन्त्रको संवाहक पार्टी, सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय सबैको अधिकार र पहिचान स्थापित गर्ने पार्टी। यो विचारभन्दा अर्को र नयाँ विचार कसैको पनि छैन। तर अहिले एउटा भाष्य बनाउन खोजिएको छ सोसल मिडियाबाट । त्यो भाष्य के भने नयाँ भनेको विचार होइन, नयाँ भनेको मान्यता होइन, सिद्धान्त होइन, राजनीतिक मुद्दा होइन, नयाँ भनेको पुरानाको विरोध गर्नु हो भन्ने भाष्य बनाउन खोजिएको छ । राजनीतिमा, इतिहासमा, सामाजिक विज्ञानमा, सामाजिक क्रान्तिको विज्ञानमा इतिहासदेखि प्रमाणित भएको कुरा के हो भने निर्णायक कुरा विचार र राजनीतिक मुद्दा नै हो। त्यो नयाँ छ कि छैन, त्यो राष्ट्र र जनताको हितमा छ कि छैन भन्ने कुरा मुख्य कुरा हो। त्यसकारण हामीले यो कुरालाई जनताको घर(घरमा पुर्याउनु पर्ने छ। नयाँ हामी हो, चुनौतीका साथ भन्नुपर्यो हामीले हामी नै नयाँ हो। विचारले नयाँ, नामले नयाँ, संगठनले नयाँ, राजनीतिक मुद्दाले नयाँ, हर दृष्टिकोणले हामी नयाँ हो भन्ने कुरा जनतालाई बुझाउनु पर्यो। जसले आफूलाई आजकल सोसल मिडियाबाट हामी नयाँ हो भन्ने गरेका छन्, विचारको हिसाबले ती सबभन्दा पुराना हुन् भनेर जनतालाई बुझाउनु पर्यो। किनकि यो सत्य यही नै हो। उदार पुँजीवादका पक्षधर, दलाल पुँजीवादका पक्षधर कसरी नयाँ हुन सक्छन्। ती त नेपालको मात्र होइन विश्व इतिहासमै सबभन्दा पुरानो विचार भनेको त्यही त हो पुँजीवाद। त्यसकारण त्यो हरेक दृष्टिकोणले नयाँ होइन भनेर बुझाउनु पर्यो।’
संयोजक दाहालले आफूलाई नयाँ भन्ने कतिपय शक्तिहरूलाई वैचारिक रूपमा सबैभन्दा पुराना भएको आरोप लगाए । उदार र दलाल पुँजीवादको पक्षपोषण गर्नेहरू विश्व इतिहासकै पुरानो विचारमा आधारित रहेको भन्दै उनले उनीहरू कुनैपनि हालतमा नयाँ हुन नसक्ने जिकिर गरे ।









