images
images

बालेन लक्षित ओलीको टिप्पणी: आफ्नै जिल्लामा नपत्याएपछि अर्कै क्षेत्र खोज्दै हिँडे

झापा- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपाका वरिष्ठ नेता बालेन साहप्रति लक्षित गर्दै आफ्नै क्षेत्रमा विश्वास गुमाएका नेताहरू नयाँ क्षेत्रको खोजीमा आउने गरेको टिप्पणी गरेका छन्।

उनले आफ्नो क्षेत्रमा विश्वास गुमाएकाहरु नयाँ ठाउँ चहार्दै हिँडेको बताएका हुन् । काठमाडौँमा जितिसकेको मान्छेले त्यहाँबाटै लड्ने किन आँट नगरेको ? उनको प्रश्न छ । आफूले काम गर्न नसकेपछि अरु नयाँ ठाउँमा जानुपर्ने बाध्यता आइलागेको बताए ।

झापाको गौरीगञ्जसँगको सम्बन्ध वि.सं. २०२६ सालदेखि नै रहेको स्मरण गर्दै उनले २६, २७, २८, २९ सालसम्म आफू त्यहीँको संगठनमा खटिएको बताएका हुन् । ३० सालमा जेल परेपछि केही समय आउन नपाएको तर ४७ सालको अन्तिमदेखि फेरि उक्त ठाउँसँगको यात्रा निरन्तर रहेको बताए ।

उनले गौरीगन्ज क्षेत्रमा भएको कायापलटको चर्चा गर्दै विगतको गौरीगञ्ज र वर्तमानको ‘सेल्फी रोड’ बनेको गौरीगञ्जमा आकाश–जमिनको फरक रहेको बताए । विकासका पूर्वाधारबारे चर्चा गर्दै अध्यक्ष ओलीले हुलाकी राजमार्ग आफ्नै पहलकाकारण सफल भएको बताए । उनकाअनुसार कन्काईको एउटा पुल बाहेक अधिकांश काम सम्पन्न भइसकेको र रतुवा र कमला नदीका पुलमा देखिएका प्राविधिक समस्या समाधानको चरणमा रहेको छ ।

सामाजिक सुरक्षाका क्षेत्रमा आफ्नै नेतृत्वको सरकारले महत्वपूर्ण योगदान गरेको चर्चा गर्दै उनले ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्याएको दाबी गरे । यद्यपि वर्तमान आर्थिक अवस्था र पटक–पटकको सरकार परिवर्तनका कारण भत्ता बढाउन नसकिएकोमा उहाँले दुःख व्यक्त गरे ।

उनले भने,‘हामीले सडकमा भिखमङ्न सडक बालबालिका हुनुहुँदैन भनेर अभियान चलाएका छौँ। र पछाडि परेको समुदायलाई कसरी अगाडि बढाउने त्यस विषयमा पनि हामीले विभिन्न प्रयासहरू गरेका छौँ। अहिले म केही भन्न धेरै चाहन्न। हामीले थाहा पाउनुपर्छ आफ्नै जिल्लाबाट कोही मान्छे किन चुनाव लड्दैन ? आफ्नै जिल्लामा कसैले पत्याउने स्थिति छैन। त्यहाँ ढाँट्न सकिँदैन। काठमाडौँमा जितिसकेको मान्छेले त्यहाँबाटै किन आँट गर्दैन फेरि लड्न ? किन यहाँ आउँछ ? यो साथीहरूले बुझ्नुभएको छ, दाजुभाइ दिदीबहिनीहरूले बुझ्नुभएको छ। अर्को कुरा अहिले म यसो अलिकति सुन्छु कता कता मधेसी पहाडी भन्ने कुरा पनि सुन्छु भित्र भित्र। त्यस्तो कुराहरू गर्नुहुँदैन हामीले। हामीले सामाजिक न्याय र समानताको कुरा गर्नुपर्छ। त्यसको आधारमा सामाजिक सद्भावको कुरा गर्नुपर्छ।’

अध्यक्ष ओलीले समाजमा सद्भाव बिथोल्ने प्रयासहरूप्रति सचेत गराए । मधेशी र पहाडीबीचको भेदभाव अन्त्य गरी सामाजिक न्याय र समानताका आधारमा राष्ट्रिय एकता बलियो बनाउनुपर्नेमा उनले जोड दिए ।