images
images

कार्यतालिका सहित महाशिवरात्रिको तयारी पूरा, ४० लाख खर्च हुने अनुमान

काठमाडौँ — गुठी संस्थानले यस वर्षको महाशिवरात्रि पर्वका लागि सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ। संस्थानले मंगलबार पत्रकार सम्मेलन गर्दै फागुन १ देखि ५ गतेसम्म सञ्चालन हुने पर्वका लागि आवश्यक व्यवस्थापन अन्तिम चरणमा पुगेको जानकारी दिएको हो। यस वर्ष महाशिवरात्रि फागुन ३ गते मनाइँदै छ।

गुठी संस्थानका प्रवक्ता जनक पोखरेलका अनुसार पशुपतिनाथ मन्दिर क्षेत्र तथा काठमाडौँ उपत्यकाका विभिन्न अखडामा आउने साधुसन्तको सेवा, पूजा व्यवस्थापन तथा अन्य प्रबन्धका लागि संस्थानले आवश्यक तयारी गरिसकेको छ। पर्व अवधिभर साधुसन्तका लागि दाउरा, भोजन, पूजा सामग्री र दक्षिणाको व्यवस्था गरिनेछ।

महाशिवरात्रि पर्वको कार्यतालिका

  • फागुन १ गते:
    पशुपति शाखाका कर्मचारी राष्ट्रपति कार्यालय पुगेर परम्परागत विधिअनुसार संकल्प गर्नेछन्। राष्ट्रपतिबाट अर्पण गरिने सामग्रीमा राडी, च्यादर, बख्खु, कमण्डलु, रुद्राक्ष माला, धान, दाल, घिउ, फलफूलसहित २१ प्रकारका सामग्री समावेश छन्। सोही दिन मन्दिर परिसरमा साधुसन्तका लागि भोजन र दाउराको व्यवस्था गरिनेछ।

  • फागुन २ गते:
    अन्नपूर्ण आश्रममार्फत मन्दिर परिसरका साधुसन्तलाई भोजन उपलब्ध गराइनेछ। साथै राम मन्दिर, भष्मेश्वर, निर्मल, मृगस्थली गोरखनाथ, वनकाली र थापाथली क्षेत्रका अखडाहरूमा दाउरा र भोजनको प्रबन्ध मिलाइनेछ।

  • फागुन ३ गते (महाशिवरात्रि):
    पशुपति शाखाबाट पञ्चामृतसहित पूजा सामग्री पशुपतिनाथ मन्दिरमा अर्पण गरिनेछ। साँझ मन्दिर परिसरमा बत्ती बालिनेछ र साधुसन्तलाई दही, फलफूल तथा धुनी बाल्न दाउरा वितरण गरिनेछ।

  • फागुन ४ गते:
    मन्दिर परिसर र अखडाहरूमा साधुसन्तका लागि भोजन र दाउराको व्यवस्था निरन्तर रहनेछ।

  • फागुन ५ गते:
    बिहान साधुसन्तलाई भोजन गराइनेछ। त्यसपछि दक्षताअनुसार विभिन्न रङका कार्ड वितरण गरी सोही आधारमा तोकिएको दरअनुसार दक्षिणा प्रदान गरेर साधुसन्तलाई बिदाइ गरिनेछ।

बजेट र व्यवस्थापन

गुठी संस्थानले यस वर्ष महाशिवरात्रिका लागि कुल ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। जसमध्ये दाउरा खरिदका लागि ८ लाख र पर्व सञ्चालन तथा अन्य व्यवस्थापनका लागि ३२ लाख रुपैयाँ छुट्याइएको छ।

गत वर्ष महाशिवरात्रिमा २ हजार ३८९ जना साधुसन्तलाई वर्गीकृत गरी दक्षिणासहित बिदाइ गरिएको थियो। दक्षिणा वितरणमा मात्र २० लाख ५८ हजार ६ सय ७१ रुपैयाँ खर्च भएको संस्थानले जनाएको छ भने करिब ५० हजार केजी दाउराको व्यवस्था गरिएको थियो।