images
images

गोदावरीमा करारका इन्जिनियरले पाँच वर्षमा कमाए दुई करोड अवैध सम्पत्ति

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकामा करारमा कार्यरत इन्जिनियर सुवास लामिछानेविरुद्ध अकुत आर्जनमा मुद्दा दायर गरेको छ।

आयोगले मंगलबार गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको हो। लामिछानेले पदीय हैसियतको दुरुपयोग गरेर एक करोड ९७ लाख १० हजार १५७ रुपैयाँ अवैध सम्पत्ति आर्जन गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानले जानकारी दिए।

लामिछाने २०७६ फागुन १ गते सेवामा प्रवेश गरेर २०८१ साउन १४ गतेसम्म करारमा कार्यरत रहेका थिए। त्यस अबधिमा उनको आम्दानी र खर्चबीच ठुलो अन्तर भेटिएको अख्तियारको दाबी छ।

उनले पारिश्रमिक, भत्ता, श्रीमतीको बचत, ऋण सापटी र शेयर बिक्रीसहित उनको कुल वैधानिक आय १ करोड २७ लाख ७४ हजार ६७३ रुपैयाँ गरेको पाइएको छ। त्यहीँ अवधिमा जग्गा खरिद, घर निर्माण, शेयर लगानी, छोराको अध्ययन खर्च, बीमा प्रिमियम लगायतमा ३ करोड २४ लाख ८४ हजार ८३० रुपैयाँ खर्च गरेको पाइएको छ।

वैधानिक आम्दानीको तुलनामा खर्च धेरै देखिएको र त्यसको स्रोत नखुलेको प्रवक्ता न्यौपानले जानकारी दिए। आयोगले लामिछानेको बुबा सुदर्शनलाई पनि प्रतिवादी बनाएको छ।