अन्तिम अध्यायमा समानता, समावेशिता, सामाजिक न्याय र सुरक्षाबारे चर्चा गरिएको छ। सामाजिक न्यायका लागि के के काम गर्ने भन्ने उल्लेख गरिएको छ।
नेकपाको प्रतिबद्धता पत्रमा प्रगति हुन नसकेका राष्ट्रिय गौरवका आयोजना र नयाँ महत्त्वपूर्ण आयोजनाहरूको निर्माण द्रुतरूपमा सम्पन्न गर्ने जनाइएको छ। त्यस्तै पूर्वपश्चिम राजमार्ग, हुलाकीमार्ग, मध्यपहाडी लोकमार्ग, काठमाडौँ-निजगढ द्रुतमार्ग, काठमाडौँ-हेटौडा सुरुङमार्ग, उत्तरदक्षिण लोकमार्ग (कोशी, त्रिशूली, कालीगण्डकी, कर्णाली र महाकाली कोरिडोर) गड्डाचौकी-चिसापानी सडक खण्ड चार लेनको निर्माण गर्ने पनि उल्लेख छ। खुटीया-दिपायल-चैनपुर-उरै भञ्ज्याङ योजना को निर्माण शीघ्र सम्पन्न गर्ने नेकपाले जनाएको छ।
यससँगै काठमाडौँको बाहिरी चक्रपथ र अन्य प्रमुख शहरमा चक्रपथको निर्माणलाई तीव्रता दिइने प्रतिबद्धता पत्रमा उल्लेख छ। ‘सबै स्थानीय तहका केन्द्रसम्म पक्की सडक पुर्याइनेछ। हुलाकी सडकका बाँकी खण्डको निर्माण कार्य पूरा गरिनेछ,’ नेकपाले भनेको छ, ‘पूर्व-पश्चिम हिमाली लोकमार्गको अध्ययन गरी प्रारम्भिक कार्य सम्पन्न गरिनेछ।’
नेकपाले ठूला पूर्वाधार निर्माणमा पनि जोड दिएको छ। ‘केरुङ-काठमाडौँ, काठमाडौँ-पोखरा र काठमाडौँ-लुम्बिनी रेलमार्गको निर्माण प्रक्रिया अगाडि बढाइनेछ। यसअघि सहमति भए अनुसारका नाका सञ्चालनका लागि कूटनीतिक पहल गरिनेछ,’ प्रतिबद्धता पत्रमा भनिएको छ, ‘पूर्व(पश्चिम रेलमार्ग निर्माण र काठमाडौँमा मेट्रोरेल तथा मोनोरेल निर्माण प्रक्रिया अगाडि बढाइनेछ।’
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य ५ वर्षमा सक्ने, हाल प्रयोगमा नरहेका मुलुकका विभिन्न भागका विमानस्थलको स्तरोन्नति गरी प्रयोगमा ल्याउने वा अन्य प्रयोजनमा उपयोग गर्ने नेकपाले जनाएको छ। ‘मुलुकका विभिन्न भागमा द्रुतमार्ग, लोकमार्ग र टनेल मार्गको निर्माण कार्य अगाडि बढाइनेछ। प्रमुख सहरहरूमा मास ट्रान्सिट सिस्टम कार्यान्वयनमा ल्याउनेछ,’ प्रतिबद्धता पत्रमा भनिएको छ, ‘ठूला नदीहरूमा जल यातायातका पूर्वाधार निर्माण गरिनेछ।’







