images
images

पूर्वउपकुलपति भण्डारी धरौटीमा रिहा

काठमाडौँ – करिब साढे सात करोड रुपैयाँ बराबरको बिगो दाबी गरिएको भ्रष्टाचार मुद्दामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा. संगिता भण्डारीलाई विशेष अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

अदालतले उनलाई दुई लाख रुपैयाँ धरौटी बुझाएपछि तारेखमा बस्ने गरी छाड्न आदेश गरेको हो ।

सिटी क्यान खरिदसँग सम्बन्धित उक्त मुद्दामा मंगलबार विशेष अदालतमा उपस्थित भएपछि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र हेमन्त रावल सम्मिलित इजलासले थुनामा नराखी धरौटीमा छाड्ने निर्णय गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिटी क्यान मेसिन खरिदमा अनियमितता भएको ठहर गर्दै सात करोड ३१ लाख ८२ हजार रुपैयाँ बिगो कायम गरी गत माघ १५ गते विशेष अदालतमा अभियोग पत्र दायर गरेको थियो ।

डा. भण्डारीविरुद्ध यसअघि दर्ता भएको अर्को भ्रष्टाचारसम्बन्धी मुद्दा पनि विशेष अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।