काठमाडौँ – पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको शुक्लागण्डकी-२ दुलेगौँडामा आज सवारी दुर्घटनामा परी व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैसहित चार जना घाइते भएका छन् ।
जिल्लाको दुलेगौँडाबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०६४ प ०७८३ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ आउँदै गरेको ग१ज ४६६७ नम्बरको ट्याक्सी एकापसमा खाएपछि ट्याक्सी अर्को सामान बोक्ने भ्यानमा ठोक्किएको थियो ।
पोखराबाट दुलेगौँडातर्फ आउँदै गरेको ध१ज ६२४ नं को भ्यानमा ठोक्किएपछि ट्याक्सीमा सवार उपप्रमुख दरै, उहाँका छोरा २७ वर्षीय हेमन्त दरै, ट्याक्सी चालक कास्की पोखरा महानगरपालिका-५ मालेपाटनका ३८ वर्षीय सन्देश गोले र पोखरा महानगरपालिका-१४ चाउथेका १८ वर्षीय मोटरसाइकल चालक समेशकुमार थापा रहेका छन् ।
गोलेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र अन्य तीन जनाको आविष्कार अस्पताल पोखरामा उपचार भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।







