images
images

वर्षमान र दामोदरसहित ५१ लाई आयोगले सोध्यो स्पष्टीकरण, ३० जनाले दिए जवाफ

काठमाडौँ- निर्वाचन आचारसंहिता लागू भएसँगै विभिन्न व्यक्ति तथा संस्थामाथि उल्लंघनसम्बन्धी उजुरी बढ्दै गएका छन्। हालसम्म आयोगले ५१ वटा स्पष्टीकरण सोधेकोमा ३० वटाको जवाफ प्राप्त भएको जनाएको छ।

पछिल्लो समय विद्यालयमा चुनावी कार्यक्रम आयोजना गर्ने, सरकारी सवारीसाधन प्रचारमा प्रयोग गर्ने तथा गैरसरकारी संस्थामार्फत मत सर्वेक्षण गराउने जस्ता विषयमा स्पष्टीकरण मागिएको छ।

नेकपाका वर्षमान पुनमाथि विद्यालय परिसरमा चुनावी कार्यक्रम गरेको आरोपमा स्पष्टीकरण सोधिएको थियो। त्यसैगरी, दोलखाको वैत्यश्वर गाउँपालिका- ५ का वडाध्यक्ष भुवन घिमिरे नेकपाको चुनावी कार्यक्रममा निरन्तर सहभागी भएको विषयमा पनि आयोगले चासो देखाएको हो।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी नेकपाको चुनावी प्रचारप्रसारमा संलग्न भएको आरोपमा स्पष्टीकरणको दायरामा परेका छन् भने पूर्वमन्त्री दामोदर भण्डारीमाथि प्रचारप्रसारका क्रममा सरकारी गाडी प्रयोग गरेको आरोप लागेको छ।

गोरखा- १ का कांग्रेस उम्मेदवार प्रेमकुमार खत्रीले आचारसंहिता विपरीत चुनावी सभा गरेको विषयमा पनि स्पष्टीकरण मागिएको छ।

यसैबीच, गैरसरकारी संस्था हेफर इन्टरनेशनलले मत सर्वेक्षणका लागि सर्वेक्षक खटाएको विषयमा आयोगले चासो व्यक्त गरेको छ। त्यस्तै, आचारसंहिता लागू भएपछि गोरखापत्र संस्थानले बागमती र मधेश प्रदेशका संयोजक हटाएको घटनाबारे पनि आयोगले स्पष्टीकरण मागेको छ।

निर्वाचन आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निगरानी कडा बनाइएको जनाएको छ। प्राप्त जवाफहरूको अध्ययन गरी आवश्यक निर्णय लिइने आयोगको भनाइ छ।