images
images

निर्वाचनको माहोल नेकपातिर बढ्दै गएको दाहालको दाबी

पोखरा — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बन्दै गएको दाबी गरेका छन्। बुधबार पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले विपक्षी राजनीतिक दलहरू समेत निर्वाचनको वातावरण नेकपातिर ढल्किँदै गएको निष्कर्षमा पुगेको बताएका हुन्।

दाहालले प्रत्यक्षतर्फको निर्वाचनमा नेकपाले राम्रो नतिजा ल्याउने सम्भावना देखिएको उल्लेख गर्दै पार्टीका नेता–कार्यकर्तालाई उच्च मनोबलका साथ प्रचारप्रसारमा जुट्न निर्देशन दिए। उनले नयाँ भनिएका राजनीतिक दलहरूले केही नयाँ क्षेत्रमा माहोल बनाउन खोजे पनि पुराना क्षेत्रमा प्रभाव पार्न नसकेको टिप्पणी गरे।

संयोजक दाहालले आगामी निर्वाचनमा नेकपा, नेपाली कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच कडा प्रतिस्पर्धा हुने बताए। उनले आगामी १०–१५ दिनभित्र नेकपाले अन्य दललाई पछाडि पारेर निर्वाचनको माहोल आफ्नो पक्षमा बनाउने दाबी गरे।

“प्रत्यक्षतर्फको वेभ नेपाली कम्युनिष्ट पार्टीतिर नै छ। यो मैले मात्रै भनेको होइन, हाम्रा विपक्षी दल, बुद्धिजीवी र पत्रकारहरूले पनि नेकपाको अवस्था सोचेभन्दा राम्रो हुँदै गएको स्वीकार गर्न थालेका छन्,” उनले भने।

दाहालले पहिले नेकपालाई कमजोर आँकलन गर्नेहरूको धारणा अहिले बदलिएको बताए। उनका अनुसार अहिले बजारमा पनि देशभर नेकपा, कांग्रेस, एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा हुने चर्चा चलेको छ।

संयोजक दाहालले नेकपा नयाँ र स्पष्ट भिजन भएको पार्टी भएकाले हजारौँ युवा पुस्ताको साथ रहेको दाबी गर्दै सबै नेता–कार्यकर्तालाई एकताबद्ध भएर निर्वाचनमा खटिन आग्रह गरे।