काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारविरुद्धको लडाइँ राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रको संयुक्त प्रतिविद्धताबाट मात्र सफल हुने बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसको मूल समारोहमा बोल्दै उनले भ्रष्टाचार विरुद्धको लडाइँ कुनै एक संस्थाको मात्र जिम्मेवारी नभई राज्यका सबै अङ्ग, राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र नागरिक समाजको संयुक्त प्रतिविद्धताबाट मात्र सफल हुने बताएका हुन् ।
उनले सार्वजनिक शक्ति व्यक्तिगत स्वार्थका लागि प्रयोग हुँदा शासन प्रणालीप्रति निराशा बढ्ने, कानुनप्रति आस्था कमजोर बन्ने र लोकतन्त्रको आधारभूत मूल्य नै प्रभावित हुने कुरा औँल्याए। उनले भने, “सार्वजनिक शक्ति व्यक्तिगत स्वार्थका लागि प्रयोग हुँदा शासन प्रणालीप्रति निराशा बढ्छ, कानुनप्रति आस्था कमजोर हुन्छ र लोकतन्त्रको आधारभूत मूल्य नै प्रभावित हुन्छ।”
राष्ट्रपतिले सत्ता, शक्ति र धनको अनावश्यक मोहले भ्रष्टाचार बढाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै सदाचार, पारदर्शिता, निष्पक्षता र निर्भीकतालाई व्यवहारमा उतार्नुपर्ने बताएका छन्। उनले नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारमार्फत अनुशासन र सुशासन प्रणाली सुदृढ बनाउनुपर्ने पनि जोड दिए।
यसैगरी उनले आयोगले आगामी दिनमा पनि आफ्नो संवैधानिक जिम्मेवारी निष्पक्षता र निर्भीकताका साथ निर्वाह गर्ने विश्वास व्यक्त गरे।








