गलकोट(बागलुङ) – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न कम्युनिष्ट पार्टीमा राजनीतिक मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला सहकार्य हुँदै आएको बताएका छन् ।
आज जिल्लाको गलकोटमा आयोजना गरिएको नेकपा र राष्ट्रिय जनमोर्चाको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले देशभर एकताको सन्देश दिने गरी बागलुङमा सहकार्य गरिएको बताए ।
संयोजक दाहालले जनमोर्चासँगको चुनावी तालमेलले नेपालभर एकताको सन्देश दिएको र यो सहकार्य चुनावपछि पनि कायम रहने बताए । “विभिन्न कम्युनिष्ट पार्टीमा राजनीतिक मतभेद छन्, तर राष्ट्रलाई अप्ठेरो पर्दा विगतमा पनि सहकार्य गर्दै आएका छौँ । यसपटक पनि देशलाई संकटबाट टार्न कार्यगत एकता र गठबन्धन हुन्छ”, उनले भने,“गत भदौँ २३ र २४ मा भएको आन्दोलनपछिको अवस्थालाई हेरेर हामीले पार्टी एकता र सहकार्य अगाडि बढाएका छौँ । त्यही क्रममा जनमोर्चासँग सहकार्य भएको हो ।”
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले देश गम्भीर संकटमा परेको र निर्वाचनले सही मार्गमा ल्याउने विश्वास व्यक्त गरे । उनले आगामी फागुन २१ मा हुने निर्वाचनलाई सामान्य रूपमा नलिन आग्रह गर्दै देशको हितमा काम गर्नेलाई पहिचान गरेर मतदान गर्न आग्रह गरे ।
यहाँ रहेका दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं १ मा नेकपाले जनमोर्चाका कृष्ण अधिकारी र क्षेत्र नं २ मा जनमोर्चाले नेकपाका उम्मेदवार ज्ञामनाथ गैरेलाई सघाउने सहमति भएको कार्यक्रममा जानकारी दिइयो ।








