काठमाडौं । नेटोले ‘आर्कटिक सेन्ट्री’ नामक नयाँ मिसन सुरु गरिएको बुधबार घोषणा गरेको छ । यो मिसन ग्रीनल्यान्डसहित आर्कटिक क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउने उद्देश्यले सुरु गरिएको जनाइएको छ ।
यो कदमलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डबारे दाबी फिर्ता लिएपछि उनलाई मनाउने प्रयासका रूपमा हेरिएको छ । अमेरिकी जनरल एलेक्सस ग्रिन्केभिच, नेटोका सर्वोच्च सहयोगी कमान्डर युरोपले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो नयाँ मिसनले नेटोको शक्तिको उपयोग गरेर हाम्रो क्षेत्रको रक्षा गर्नेछ र आर्कटिक तथा हाई नर्थलाई सुरक्षित राख्नेछ ।”
विज्ञप्तिमा थप भनिएको छ, “आर्कटिक सेन्ट्रीले गठबन्धनका सदस्य राष्ट्रहरूको सुरक्षा र विश्वका सबैभन्दा रणनीतिक महत्त्वका तथा वातावरणीय रूपमा चुनौतीपूर्ण क्षेत्रमा स्थिरता कायम राख्ने प्रतिबद्धतालाई जोड दिन्छ ।”
नेटोका अनुसार, यो मिसनले सुरुमा गठबन्धनका सदस्य राष्ट्रहरूले यस क्षेत्रमा गर्ने कार्य, जस्तै नर्वे र डेनमार्कका अबका अभ्यास निरीक्षण गर्नेछ ।
आर्कटिक सेन्ट्री मिसनले क्षेत्रमा थप सैन्य क्षमता पठाउने वा नपठाउने भन्ने विषय स्पष्ट गरिएको छैन ।
ग्रीनल्यान्ड डेनमार्कको अधीनमा रहेको अर्धस्वायत्त क्षेत्र हो । ट्रम्पले ग्रीनल्यान्ड तथा सम्पूर्ण आर्कटिक क्षेत्रबारे भविष्यको सम्झौताको ढाँचा तयार पारिएको यसअघि नै बताइसकेका छन् ।
यो सम्झौताले अमेरिका, क्यानडा, डेनमार्क, नर्वे, स्वीडेन, फिनल्यान्ड र आइसल्यान्ड गरी सात आर्कटिक सहयोगी राष्ट्रको संयुक्त कार्यमार्फत यहाँ सुरक्षा सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।
जर्मन सशस्त्र बलले आर्कटिक सेन्ट्रीमा युरोफाइटर लडाकु र ए४००एम ढुवानी विमानसहित भाग लिने योजना बनाएको छ ।








