images
images

कपिलवस्तुमा गुडिरहेको बसमा आगलागी, ४४ यात्रु सकुशल

काठमाडौँ -काठमाडौँबाट सुर्खेत जाँदै गरेको ना.७.ख ६०४८ नम्बरको बस आज बिहान कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका-६, टिटिहिरिया क्षेत्रमा आगलागी भएर पूर्णरूपमा नष्ट भएको छ।

घटना गुडिरहेको अवस्थामा भएको र बस सडक छेउमा रोकिएको थियो। प्रहरीका अनुसार बसको बायाँ चक्काबाट आगो सुरु भएको थियो। स्थानीयवासी र कपिलवस्तु नगरपालिका तथा इलाका प्रहरी कार्यालय पकडीबाट पुगेको दमकलले आगो निभाउन प्रयास गरे पनि आधा घण्टाभित्र बस पूर्णरूपमा जलेर नष्ट भएको छ।

बसमा सवार सबै ४४ जना यात्रु सकुशल रहेका छन्। आगोले बसमा रहेको केही सामानहरू पनि जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ।

आगलागीको कारण हालसम्म पुष्टि हुन सकेको छैन। घटनाबारे थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।