काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अन्तिमपल्ट चुनाव लड्न रुकुम पुगेको बताएका छन् ।
३० औँ ‘जनयुद्ध’ दिवसका अवसरमा रुकुम पूर्वको भूमे गाउँपालिकास्थित खाबाङबगरमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले परिवर्तनका लागि भएको लडाइँमा रुकुम पूर्वले गरेको योगदान र बलिदानको सम्मान गर्दै रुकुमेलीप्रति आभार व्यक्त गर्न यसपल्ट यहाँबाट उम्मेदवार बनेको बताएका हुन् ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुकुम पूर्वबाट उम्मेदवार बनेका दाहालले शान्ति सम्झौतापछि पहिलोपल्ट ‘जनयुद्ध’ दिवस मनाउन रुकुम आएकोमा खुसी व्यक्त समेत गरे । ‘रुकुम पूर्व क्रान्तिको उद्गम भूमि मात्र होइन, शान्ति प्रक्रियाको निर्णय गर्ने थलो पनि हो,’ उनले भने, ‘यही भूमिबाट हामीले पहिलोपल्ट क्रान्तिको उद्घोष गरिएको थियो र यहीको चुन्बाङबाट गणतन्त्रमा जाने निर्णय गरिएको हो । यसकारण यो जिल्ला इतिहास निर्माण गर्ने थलो हो ।’
यस अवसरमा रुकुम आउन पाएकोमा आफू केही भावुक र धेरै जिम्मेवार एवं गौरवान्वित भएको बताउँदै दाहालले रुकुम पूर्वको विकास र समृद्धिका लागि आफू र आफ्नो पार्टीले विभिन्न कामहरू गर्ने बताउँदै प्रतिबद्धतासमेत व्यक्त गरे । साथै उनले अगामी ५ वर्षका लागि आफ्नो पार्टीले सरकार चलाउन पाएमा देशलाई विकासको मार्गमा प्रवेश गराउनेसमेत बताएका छन् ।








