काठमाडौँ – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सैनिक दिवसका अवसरमा टुँडिखेलमा भएको विदेशी सैनिकहरूको प्रदर्शनलाई विश्वव्यापी परिपाटी र मित्रताको प्रतिकका रूपमा चित्रण गरेका छन्।
सोमबार राजनीतिक दलका प्रतिनिधिहरुसँगको छलफलका क्रममा उनले विभिन्न देशका सैनिकहरूबीच हुने तालिम आदानप्रदान र मैत्रीपूर्ण प्रदर्शनलाई नकारात्मक रूपमा हेर्न नहुने बताए।
भण्डारीले सैनिक दिवसको उपलक्ष्यमा अमेरिकी, बेलायती र भारतीय सैनिकका टुकडीहरूले आफ्नो कला प्रदर्शन गरेको उल्लेख गरे। उनका अनुसार यस्ता प्रदर्शनहरू मित्र शक्तिहरूबीचको सम्बन्ध प्रगाढ बनाउन र तालिमको अनुभव साटासाट गर्न विश्वभरि नै हुने गरेका छन्।
सामाजिक सञ्जालमा केही व्यक्ति र राजनीतिक दलका नेताहरूले अमेरिकी सैनिकको नाचलाई लिएर सरकारको आलोचना गरेकोप्रति लक्षित गर्दै भण्डारीले यसलाई मानसिकताको उपज भएको बताए।
विदेशी सेनाको उपस्थितिलाई लिएर ‘खबरदार’ भन्दै गरिएको टिप्पणीहरूतर्फ संकेत गर्दै उनले देशका जिम्मेवार व्यक्तिहरूले पनि यस्ता विषयमा नकारात्मक मानसिकता राख्नु दुःखद् भएको बताए।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सैन्य कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका आयामहरूलाई बुझेर मात्र धारणा सार्वजनिक गर्न सरोकारवालाहरूलाई आग्रह गरे।








