काठमाडौँ, १४ फागुन — नेपाल सरकारअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति ले स्वीकृति नलिई पात्रो (पञ्चाङ्ग) तथा भित्तेपात्रो (क्यालेन्डर) प्रकाशन तथा वितरण नगर्न सम्बन्धित सबैलाई निर्देशन दिएको छ।
समितिले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै ज्योतिषीय विषय समेटिएका प्रकाशनमा अनिवार्य रूपमा पूर्वस्वीकृति लिनुपर्ने जनाएको हो। समितिका अनुसार गठन आदेश, २०३७ तथा आन्तरिक व्यवस्थापन निर्देशिका, २०७९ बमोजिम कुनै पनि व्यक्ति, संस्था वा प्रकाशन संस्थाले पात्रो, भित्तेपात्रो, डायरी, टेबल क्यालेन्डरलगायत ज्योतिषसम्बन्धी सामग्री प्रकाशन गर्नुअघि समितिबाट स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था छ। त्रुटिपूर्ण ज्योतिषीय विवरण बढेपछि कडाइ पछिल्लो समय स्वीकृति नलिई प्रकाशित कतिपय पात्रो तथा क्यालेन्डरमा तिथि, मिति, वार, नक्षत्र, योग, करण, ग्रहस्थिति, शुभ–अशुभ मुहूर्त, चाडपर्व, व्रतबन्ध, विवाह मुहूर्त तथा सरकारी बिदासम्बन्धी विवरणमा त्रुटि तथा असंगति देखिएको समितिले जनाएको छ। यसबाट सर्वसाधारणमा भ्रम तथा अन्योल सिर्जना भएको भन्दै समितिले कडाइ गरेको हो। समितिले वि.सं. २०८१ देखि पात्रोसँगै भित्तेपात्रो (क्यालेन्डर) मा पनि स्वीकृति अनिवार्य गरिएको स्पष्ट पारेको छ।
उल्लंघन गरे १ लाखसम्म जरिवाना निर्देशिकाअनुसार स्वीकृति नलिई प्रकाशन तथा वितरण गरिएको पाइएमा त्यस्ता सामग्री जफत गरिने, प्रकाशनमा रोक लगाइने तथा १० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको छ। आवश्यक परे प्रचलित कानुनअनुसार थप कारबाहीसमेत गरिने समितिले जनाएको छ। समितिले स्वीकृतिप्राप्त प्रकाशनमा स्वीकृति पत्र तथा स्वीकृति नम्बर अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने पनि जनाएको छ।
सबै निकायलाई सहयोगको आग्रह उक्त व्यवस्था प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, शैक्षिक संस्था, उद्योग–वाणिज्य क्षेत्र तथा सरोकारवाला निकायसँग आवश्यक सहयोगको अपेक्षा गरिएको समितिले जनाएको छ।
समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थी र अध्यक्ष रमेश प्रसाद ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा सर्वसाधारणलाई प्रमाणित तथा स्वीकृतिप्राप्त पात्रो तथा क्यालेन्डर मात्र प्रयोग गर्न आग्रह गरिएको छ।








