सुन्धारामा पानी ल्याउने र पानीको निकास खोल्ने कामको जिम्मेवारी काठमाडौं महानगरपालिकाले लिने भएको छ।
शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापन गर्ने जिम्मेवारी महानगरलाई प्रदान गर्ने निर्णय गरेको हो।
बैठकले धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनको तत्कालीन र दीर्घकालीन परियोजना प्रारुप तयार पार्न सहरी विकास मन्त्रालय र काठमाडौं महानगरका अधिकारी सम्मिलित समिति गठन गर्ने निर्णय गरेको छ।
बैठकमा गृहमन्त्री अर्यालले, यस्ता प्रकारका संरचना सञ्चालन व्यवस्थापनको दायित्व स्थानीय सरकारलाई दिन उपयुक्त रहेको धारणा राखेका थिए।
महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनको दायित्व महानगरपालिका ग्रहण गर्न तयार रहेको बताइन्।
२०५५ सालमा साविक स्थानीय निकाय हुँदा हस्तान्तरा भइसकेको संरचना स्थानीय सरकारलाई प्रदान गर्नुपर्छ भन्ने हाम्रो अनुरोध हो,’ उनले भनिन्, ‘यसमध्ये पनि तत्काल गर्नु पर्ने काममध्ये सुरक्षित र व्यवस्थित पार्किङ सेवा हो । नयाँ सडकका सडकमा पार्किङ नगर्नु त भन्यौं। तर, यसो गर्नु भनेर विकल्प दिन सकेका थिएनौं। यो व्यवसायिक क्षेत्रका लागि सुन्धारा एउटा विकल्प हो। यस ठाउँलाई सुरक्षित र व्यवस्थित पार्किङका लागि महानगर प्रहरी बल परिचालन गरेर निःशुल्क सेवा उपलब्ध गराउँछौं।’
२०७२ सालको भूकम्पले ढलेको धरहरा पुननिर्माणका लागि २०७५ साल पुस १२ गते पुननिर्माणका लागि भूमिपूजन र शिलान्यास भएको थियो।
३ अर्ब ४८ करोड १६ लाख ९१ हजार २ सय ४० रुपैयाँ लागतमा जिआइइटिसी रमन जेभी कम्पनीले यसको पुननिर्माण गरेको हो।








