images
images

निर्वाचन आयोगले भन्योः प्रचारका क्रममा भौतिक स्वरुपका चुनाव चिह्न प्रयोग नगर्नू

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसारका क्रममा भौतिक स्वरुपका निर्वाचन चिह्न प्रयोग नगर्न राजनीतिक दल तथा उम्मेदवारलाई आग्रह गरेको छ।

केही राजनीतिक दल वा उम्मेदवारले निर्वाचन चिह्नको प्रचार गर्दा धातु, काठ वा अन्य कडा सामग्रीबाट बनेका भौतिक चिह्न बोकी हिँड्ने गरेको र यसले सार्वजनिक शान्ति तथा सुरक्षामा प्रतिकूल असर पारेको भन्ने गुनासो प्राप्त भएको भन्दै आयोगले भौतिक रुपमा चुनाव चिह्न प्रयोग नगर्न भनेको हो।

दल तथा उम्मेदवारले तोकिएको मापदण्डअनुसार कपडा, तुल, फ्लेक्स वा कागजमा छापिएको निर्वाचन चिह्न प्रयोग गर्न सक्नेछन्। तर धातु, काठ वा अन्य समान प्रकृतिका सामग्रीबाट बनेका भौतिक चिह्न प्रयोग गर्दा सुरक्षा जोखिम बढ्ने भएकाले त्यस्तो कार्य नगर्न निर्देशन दिइएको छ।

‘राजनीतिक दल वा उम्मेदवारले आम जनमानसको सुरक्षामा असर पर्ने किसिमबाट भौतिकस्वरुपका कुनै धातु, काठ वा अन्य त्यस्तै प्रकृतिका सामाग्रीबाट बनेका निर्वाचन चिह्न प्रयोग गरी निर्वाचन प्रचारप्रसार नगर्न तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को खण्ड (ड) मा तोकिएबमोजिमको मापदण्डबमोजिम दलको झण्डा र चुनाव चिन्हको माध्यमबाट मात्र निर्वाचन प्रचारप्रसार गर्न गराउन र सोको विपरीत गरेको देखिएमा आचारसंहिता प्रतिकूल हुने व्यहोरा सरोकारवाला सबैमा जानकारीका लागि अनुरोध छ,’ आयोगले भनेको छ।