काठमाडौँ- पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक बस धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित चरौंदी नजिकै दुर्घटना भई त्रिशूली नदी किनारमा खसेको छ।
ग २ ख १४२१ नम्बरको उक्त बस सडकबाट अनियन्त्रित भई नदी किनारमा खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
दुर्घटनास्थलबाट हालसम्म १७ जनाको शव निकालिएको सुरक्षा निकायले पुष्टि गरेको छ। मृतकहरूको पहिचान खुल्न बाँकी छ।
बसमा कति यात्रु सवार थिए भन्ने यकिन भइनसकेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ।
दुर्घटनामा २४ यात्रु घाइते भएका जनाइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।







