काठमाडौँ – सामाजिक सुरक्षा कोषको खातामा योगदानकर्ताले बुझाएको १ खर्ब २ अर्बभन्दा बढी रकम जम्मा भएको छ। फागुन १० गतेसम्ममा कोषमा १ खर्ब २ अर्ब ५४ करोड रुपैयाँ जम्मा भएको हो।
वि.सं. २०७५ को मंसिर ११ गते सामाजिक सुरक्षा योजनाहरूको औपचारिक आरम्भ भएको थियो। उसले योगदानकर्ताहरूबाट रकम संकलन गर्न २०७६ साउन १ गतेदेखि थालेको हो।
सामाजिक सुरक्षा कोषमा औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको मासिक आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम जम्मा गरिन्छ। यसमा ११ प्रतिशत श्रमिक स्वयंले र २० प्रतिशत रोजगारदाताले बुझाउनुपर्ने हुन्छ। त्यसका अतिरिक्त योगदानकर्ताले आफ्नो इच्छाअनुसार योगदान रकम थप्न पनि सक्छन्। प्रत्येक महिनाको योगदान अर्काे महिनाको १५ गतेभित्रै कोषमा जम्मा गरिसक्नुपर्छ।
कोषमा जम्मा हुने रकम दिनप्रतिदिन बढ्दै गएको हो। सामाजिक सुरक्षा कोषका प्रवक्ता कृष्ण अधिकारीले कोषको रकमलाई सुरक्षित राखिएको बताए। उनका अनुसार कोषले सरकारी ऋणपत्र, बन्ड, वाणिज्य बैंकहरूको निक्षेप, म्युचुअल फन्ड, डिबेन्चर आदिमा लगानीसमेत गरेको छ। योगदानकर्तालाई सापटीका रूपमा पनि लगानी भइरहेको छ।
सामाजिक सुरक्षा कोषमा श्रमिक वा योगदान कर्ताको विभिन्न क्षेत्र छुट्याएको छ। यसमा औपचारिक, अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारी गरी चार वटा क्षेत्र छुट्याइका छन्। यो कोषमा आवद्ध हुने योगदानकर्ताले औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना गरेर चार वटा योजनाबाट लाभ लिन सक्दछन्।
अहिले कोषमा आवद्ध भएका योगदानकर्ताहरूको सङ्ख्या २८ लाख २२ हजार ३३३ पुगिसकेको छ। सूचीकृत रोजगारदाताको सङ्ख्या २३ हजार ८४ पुगेका छन्।
कुल योगदानकर्ताहरूमध्ये औपचारिक क्षेत्रका श्रमिकहरू झन्डै ६ लाख ७९ हजार जति रहेका छन् भने झन्डै २२ लाख जना वैदेशिक रोजगारीमा गएकाहरू रहेका छन्।
अनौपचारिक क्षेत्रका अनि स्वरोजगारमा रहेकाहरूको हिस्सा थोरै रहेको देखिन्छ। ८५४ जना मात्रै त्यस्ता श्रमिक सामाजिक सुरक्षा कोषमा सहभागी भएका छन् भने ८०८ जना स्वरोजगार क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध छन्।







