पर्साको वीरगञ्ज महानगरपालिकामा लगाइएको कर्फ्यू आदेश हटाइएको छ।
सोमबार बिहान पौने १० बजेदेखि सुरू भएको कर्फ्यू आदेश अपराह्न साढे ४ बजे पछि हटाइएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए।
उनका अनुसार साँझ ६ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ।
पूर्वा बाइपास रोड, पश्चिममा रानीघाट पुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा घण्टाघर चोकलाई सीमा तोकिएको छ।
निषेधाज्ञाको अवधिमा कुनै पनि किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको छ।
आइतबार साँझ सवारी पार्किङको विषयलाई लिएर छिमेकी छिमेकीबीच झगडा भएको थियो।
सोही विवाद बढ्दै गएर झडपको अवस्थामा परिणत भएको थियो। झडपका क्रममा केही युवा घाइते भएका थिए। आइतबारको घटनालाई लिएर सोमबार पुनः तनावको वातावरण उत्पन्न भएपछि स्थिति नियन्त्रणमा राख्न कर्फ्यू आदेश जारी गरेको थियो।
यसअघि सोमबार नै प्रमुख जिल्ला अधिकारी दाहालको अध्यक्षतामा सद्भाव संयन्त्रको बैठक बसेको थियो।
बैठकले दोषी पक्षलाई कारबाही गर्ने, पीडित पक्षबाट जाहेरी लिने, कानुनी कारबाहीका लागि धार्मिक अगुवाहरूले सहजीकरण गर्ने निर्णय गरेको थियो।







