images
images

नारायणहिटीस्थित पञ्चाङ्ग निर्णायक विकास समितिमा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको भ्रमण

काठमाडौं – लुम्बिनी प्रदेश सरकारका मुख्य मन्त्री माननीय चेतनारायण आचार्यले नारायणहिटीस्थित नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति को कार्यालयमा भ्रमण गर्नुभएको छ।

भ्रमणका क्रममा मुख्यमन्त्री आचार्यले समितिका पदाधिकारीहरूसँग भेटघाट तथा छलफल गर्नुभएको थियो। छलफलमा विशेषगरी लुम्बिनी प्रदेशमा मनाइने विशिष्ट चाडपर्वहरू तथा प्रदेश सरकारले घोषणा गर्ने सार्वजनिक बिदालाई राष्ट्रिय पञ्चाङ्गमा समावेश गर्ने विषयमा विचार–विमर्श भएको थियो।

मुख्यमन्त्री आचार्यले प्रदेशको सांस्कृतिक पहिचान, मौलिक परम्परा र धार्मिक महत्वलाई संस्थागत रूपमा मान्यता दिन पञ्चाङ्गमा समावेश गरिनु आवश्यक रहेको धारणा राख्नुभयो। उहाँले यस कार्यले प्रदेशको सांस्कृतिक संरक्षण र प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

समितिका पदाधिकारीहरूले प्रदेश सरकारसँग समन्वय गर्दै आवश्यक प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले पञ्चाङ्गमा समावेशीकरणका लागि प्रचलित मापदण्ड र विधि अनुसार अध्ययन तथा निर्णय गरिने जानकारी दिएका छन्।

यस भ्रमणले प्रदेश र केन्द्रीय निकायबीच समन्वय तथा सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।