चिकित्सक पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेकी डा. ठाकुरले युवापुस्ताको नेतृत्व र सहभागितालाई अभियानको केन्द्रमा राखेकी छन्। पछिल्लो समय युवामुखी राजनीतिक बहस र परिवर्तनको मागलाई सम्बोधन गर्ने उद्देश्यसहित उनले आफ्ना कार्यक्रम अघि बढाइरहेकी छन्।
उनले सञ्चालन गरिरहेका दलान छलफल तथा नागरिक संवाद कार्यक्रममा युवा र महिलाहरूको उल्लेखनीय सहभागिता देखिएको छ। स्थानीयवासीका अनुसार, डा. ठाकुर महोत्तरी–३ का लागि नयाँ अनुहार नभई लामो समयदेखि सामाजिक गतिविधिमार्फत परिचित व्यक्तित्व हुन्।
उनको उम्मेदवारीसँगै विशेषगरी युवावर्गमा उत्साह बढ्दै गएको बताइन्छ। युवाहरू स्वस्फूर्त रूपमा प्रचारप्रसारमा सक्रिय सहभागी भइरहेका छन् भने विभिन्न वडामा आयोजित रोड शो कार्यक्रमहरूमा उल्लेख्य जनसहभागिता देखिएको छ।
राजनीतिमा औपचारिक प्रवेशअघि पनि सामाजिक सेवामार्फत नागरिकसँग जोडिँदै आएकी डा. ठाकुरलाई अब संघीय संसदमा प्रतिनिधित्व गराउनुपर्ने धारणा स्थानीय तहमा सुनिन थालेको छ। अभियानलाई अझ प्रभावकारी बनाउन उनले आगामी दिनमा थप अन्तरक्रिया र क्षेत्रगत भेटघाट कार्यक्रम सञ्चालन गर्ने बताएकी छन्।