काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भड्काउ अभिव्यक्तिप्रति पूर्व सभामुख देवराज घिमिरेले आपत्ति जनाएका छन्।
मंगलबार झापा निर्वाचन क्षेत्र नम्बर-३ स्थित रास्वपाकी उम्मेदवार तथा पूर्वउसभामुख इन्दिरा रानामगरको चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले भड्काउ अभिव्यक्ति दिएका थिए। लामिछानेले झापा २ मा एमालेबाट उम्मेदवार रहेका पूर्वसभामुख घिमिरेले सभामुखको कार्यकालमा आफूहरूलाई संसदमा बोल्न नदिएर माइक काटिदिने गरेको भड्काउ अभिव्यक्ति दिएका थिए।
‘हामीले संसदमा भिजिट भिसामा हुने ठगीविरुद्ध आवाज उठायौँ, छानबिन समिति बनाउन माग गर्यौँ। तर सभामुख (देवराज घिमिरे)ले जनताको आवाज बोल्दा हाम्रो माइक काटिदिनुभयो। आज उहाँ कुन मुख लिएर जनतासँग भोट माग्दै हुनुहुन्छ?’, लामिछानेले भनेका थिए।
यद्यपि यो उनको अभिव्यक्ति आफैले बनाएको संसदीय मर्यादाबाहिर हो। लामिछानेको अभिव्यक्तिलाई पूर्वसमामुख घिमिरेले आफूविरुद्ध घृणा फैलाउने अभिव्यक्ति भनेका छन्। ‘बिर्तामोडमा आज रवि लामिछानेजीले ‘जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख’ भनेर म विरूद्ध घृणा फैलाउने काम गर्नुभएछ’, उनले आपत्ति जनाउँदै भनेका छन्।








