जलेश्वर, फागुन १२-परिवर्तनको वास्तविक अर्थ मानसिकता, दृष्टिकोण र व्यवहारमा आउने सकारात्मक बदलाव भएको बताइएको छ। जेनजी आन्दोलनबाट विकसित चेतनालाई पुनर्परिभाषित गर्दै सही दिशामा अघि बढाउन आवश्यक रहेको धारणा व्यक्त गरिएको छ।
आफ्नो निर्वाचन क्षेत्र महोत्तरी–२ मा चुनावी प्रचारअन्तर्गत घरदैलो कार्यक्रममा व्यस्त रहेका शरतसिंह भण्डारी ले जनतासँग प्रत्यक्ष संवादमार्फत भावना र विश्वास साटासाट गरिरहेको बताए। तीन तहका सरकारले गर्ने कामबारे पर्याप्त जानकारी नहुँदा सङ्घीय सांसदसँगै ढल–पानीजस्ता स्थानीय विकासका अपेक्षा बढेको उनको भनाइ थियो। सांसदको मुख्य भूमिका नीति, कानुन र नियम निर्माणमार्फत दीर्घकालीन विकास र समृद्धिको आधार तयार गर्नु रहेको विषयमा आफूले जनतालाई स्पष्ट पारिरहेको उनले बताए।
पदीय जिम्मेवारीका कारण सधैँ जनतासँग प्रत्यक्ष भेटघाट गर्न सहज नहुने भए पनि सामाजिक, सांस्कृतिक तथा पारिवारिक कार्यक्रममा सहभागी हुँदा जनगुनासा र अपेक्षाबारे छलफल गर्ने अवसर मिलिरहेको उनले बताए। यस्तो संवादलाई अझ प्रभावकारी र निरन्तर बनाउने प्रतिबद्धता उनले व्यक्त गरे।
मधेशमा सीमित स्रोतसाधन र कर्मचारीतन्त्रको ढिलासुस्तीका कारण विकास निर्माण प्रभावकारी हुन नसकेको उल्लेख गर्दै उनले यसको असर मधेशी, दलित, आदिवासी, जनजाति तथा पिछडावर्गलगायत बहिष्करणमा परेका समुदायले बढी भोग्नुपरेको बताए।
यथास्थितिमै निर्वाचन भइरहेकाले आमूल परिवर्तनको अपेक्षा संकटमा परेको दाबी गर्दै उनले उही राज्य संरचना, उही संसदीय प्रणाली र उही प्रधानमन्त्री चयन गर्ने पद्धतिबाट सार्थक परिवर्तन सम्भव नहुने बताए। देशलाई अग्रगति दिन संवैधानिक तथा कानुनी संरचना परिमार्जनका लागि संविधान संशोधन र आवश्यक परे पुनर्लेखन अपरिहार्य रहेको उनको भनाइ थियो।
जनताका बढ्दो अपेक्षा राजनीतिक दल र नेताका लागि गम्भीर चुनौती बनेको स्वीकार गर्दै उनले आफू यसप्रति संवेदनशील रहेको स्पष्ट पारे।








