images
images

मतदानकै दिन मतगणना सुरु हुने, नतिजा छिटो सार्वजनिक गर्ने आयोगको लक्ष्य

काठमाडौँ – निर्वाचन आयोगले यस पटक मतपेटिका सङ्कलनको समय घटाउने र मतदानकै दिन साँझबाट मतगणना सुरु गर्ने योजना बनाएको जनाएको छ।

मतदाताको प्रतीक्षाको समय छोट्याउन आयोगले यस्तो रणनीति लिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। निर्वाचन आयोगले मतदान सम्पन्न भएलगत्तै छिटोभन्दा छिटो नतिजा सार्वजनिक गर्ने गरी तयारी तीव्र पारेको उनले बताए।

प्रवक्ता भट्टराईका अनुसार विगतका अनुभवहरूलाई ध्यानमा राख्दै यो पटक मतपेटिका सङ्कलन गर्ने समयलाई उल्लेख्य रूपमा घटाइनेछ। आयोगको योजनाअनुसार मतदान सकिएकै दिन साँझबाट मतगणना सुरु गर्ने कार्यलाई प्राथमिकता दिइनेछ।

यसका लागि राजनीतिक दलहरूसँगको समन्वयमा मतदान हुनुपूर्व नै मतगणनास्थल र आवश्यक व्यवस्थापन मिलाइसकिने उनले बताए। मतदाताहरूको नतिजा सुन्ने व्यग्रतालाई सम्बोधन गर्न आयोगले यो ‘गुड इन्टेन्सन’ राखेको प्रवक्ता भट्टराईले बताए।

उनले भने, ‘निर्वाचन आयोगले यो पटक विगतका अनुभवहरूलाई पनि लिएर मतदानपश्चात मतपेटिका सङ्कलन गर्ने टाइम घटाउन थालेको छ। हामी सकेसम्म छिटो मतपेटिका कलेक्सन गर्छौँ। त्यसले ओभरअल रिजल्टको टाइम छोटो बनाउँछ भन्ने हाम्रो विश्वास छ।’

धेरैजसो निर्वाचन क्षेत्रमा मतगणनास्थलहरू जिल्ला सुरक्षा समितिसँगको समन्वयमा तोकिसकिएको पनि उनले जानकारी दिए।