images
images

महोत्तरी–०३ उम्मेदवार मुस्ताक अन्सारीद्वारा जसपा नेतृ डा. मिनाक्षी ठाकुरलाई समर्थन

महोत्तरी- राष्ट्र निर्माण दल नेपालले महोत्तरी निर्वाचन क्षेत्र नं. ०३ मा महत्वपूर्ण राजनीतिक निर्णय सार्वजनिक गरेको छ। पार्टीको निर्णयअनुसार सो क्षेत्रका उम्मेदवार मुस्ताक अन्सारीले जनता समाजवादी पार्टी (जसपा) नेपालकी उच्च शिक्षित महिला तथा मधेशकी होनहार चेली डा. मिनाक्षी ठाकुरलाई समर्थन गर्ने घोषणा गरेका छन्।

पार्टीद्वारा जारी विज्ञप्तिमा क्षेत्रीय सहकार्य, आपसी समझदारी तथा राजनीतिक सन्तुलनलाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको उल्लेख गरिएको छ।

विज्ञप्तिअनुसार अन्य निर्वाचन क्षेत्रहरूमा भने राष्ट्र निर्माण दल नेपाल र जसपा नेपालबीच स्वस्थ सम्बन्ध कायम राख्दै प्रतिस्पर्धा हुने स्पष्ट पारिएको छ।

त्यस्तै, महोत्तरी–०३ लगायत देशभर राष्ट्र निर्माण दलका समर्थकहरूले समानुपातिकतर्फ “पानीको बोतल” चुनाव चिह्नमा नै मतदान गर्ने पार्टीले आग्रह गरेको छ।

पार्टीका प्रवक्ता अफरोज मंसुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा लोकतान्त्रिक मूल्य, सहकार्य र राजनीतिक स्थायित्वलाई प्राथमिकतामा राखेर निर्णय गरिएको जनाइएको छ।

यस निर्णयले महोत्तरी–०३ को राजनीतिक समीकरणमा नयाँ सन्देश दिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।