अमेरिका र इजरायलले गरेको इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्याले नैतिकता र कानुनको ’सनकपूर्ण उल्लङ्घन’ भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्।
मस्कोको युक्रेन आक्रमणमा तेहरान रुसको सबैभन्दा नजिकको सहयोगीको रूपमा उभिएको छ । क्रेमलिनले पहिले इरानमा अमेरिका–इजरायल आक्रमणको पूर्वसन्ध्यामा संयम अपनाउन आह्वान गरेको थियो ।
आइतबार क्रेमलिनले पुटिनले इरानी समकक्षी मसुद पेजेस्कियनलाई पठाएको सन्देश प्रकाशित गरेको थियो जसमा रुसी नेताले खामेनीको हत्याप्रति गहिरो समवेदना व्यक्त गरेका थिए ।
उनले यो हत्याले ‘मानव नैतिकता र अन्तर्राष्ट्रिय कानुनका सबै मान्यताको उल्लङ्घन गरेको’ बताएका छन् । रुसी राष्ट्रपति पुटिनले खामेनीको हत्यापछि इरानी राष्ट्रपति र जनताप्रति समवेदना प्रकट गर्दै भने, “खामेनीलाई एक उत्कृष्ट राजनीतिज्ञको रूपमा स्मरण गरिनेछ, जसले मित्रवत रूसी–इरानी सम्बन्ध विकासमा ठूलो व्यक्तिगत योगदान पुर्याउनुभएको थियो।”
उनले पेजेश्कियानलाई पठाएको शोक सन्देशमा ‘सर्वोच्च नेताका आफन्त र प्रियजन, सरकार र इरानका सम्पूर्ण जनताप्रति हार्दिक सहानुभूति र समर्थन’ व्यक्त गरेका छन्।
रुसी विदेश मन्त्रालयले आइतबार खामेनी र अन्य शीर्ष इरानी अधिकारीहरूको मृत्युप्रति ‘रूसमा आक्रोश र गहिरो दुःख व्यक्त गरिएको’ जनाएको छ। रुसले राजनीतिक हत्या र सार्वभौम राष्ट्रका नेताहरूमाथि ‘आक्रमण’ गर्ने प्रथाको दृढतापूर्वक र निरन्तर निन्दा गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले ‘तत्काल तनाव कम गर्न, शत्रुताको अन्त्य गर्न र राजनीतिक र कूटनीतिक प्रक्रियामा फर्कन’ आह्वान गरेको छ। शनिबार मस्कोले इरानमाथि भएको आक्रमणको निन्दा गर्दै यसले मध्यपूर्वमा ‘विध्वंश’ निम्त्याउन सक्ने चेतावनी दिएको थियो।
शनिबार पनि रुसी उच्च कूटनीतिज्ञ सर्गेई लाभरोभले इरानी समकक्षी अब्बास अरागचीसँग फोनमा कुराकानी गरेका थिए भने रुसी मन्त्रालयले यो फोन ‘इरानी पक्षको पहलमा’ भएको बताएको थियो।
सन् २०२५ मा रुस र इरानले सैन्य मामिलालगायत सम्बन्ध बलियो बनाउने उद्देश्यले रणनीतिक साझेदारी सन्धिमा हस्ताक्षर गरेका थिए।








