images
images

“मतदान भविष्यको निर्णय हो, ढुक्क भएर भोट हाल्नुस्: प्रधानमन्त्री कार्की”

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनमा उत्साहजनक सहभागिता जनाउन सम्पूर्ण मतदातालाई आग्रह गरेकी छन्।

राष्ट्रका नाममा सोमबार सम्बोधन गर्दै उनले देश निर्णायक मोडमा उभिएको उल्लेख गर्दै लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन नागरिकको मत नै सबैभन्दा ठूलो शक्ति भएको बताइन्।

उनले पछिल्लो राजनीतिक परिवर्तनपछिको जटिल परिस्थितिबाट मुलुकलाई शान्ति र संवैधानिक मार्गमा अघि बढाउन सबै पक्षको सहकार्य महत्वपूर्ण रहेको धारणा राखिन्। विधिको शासन र स्थायित्वतर्फको यात्रामा जनताको संयम र योगदान प्रशंसनीय रहेको उनको भनाइ थियो।

प्रधानमन्त्री कार्कीले मतदानलाई सामान्य औपचारिकता नभई भावी पुस्ताको दिशानिर्देश गर्ने जिम्मेवार निर्णयका रूपमा चित्रित गरिन्। “निर्धारित मितिमा आफ्नो कर्तव्य निर्वाह गर्न नबिर्सनुहोस्,” उनले भनिन्, “मतदानमार्फत नै हामीले देशको भविष्य तय गर्छौं।”

निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउन सबै राजनीतिक दल, उम्मेदवार तथा समर्थकलाई संयमता अपनाउन आग्रह गरिएको छ। मौन अवधिको पूर्ण पालना र प्रचारप्रसारमा सभ्य व्यवहार प्रदर्शन गर्न उनले विशेष अनुरोध गरिन्।

निर्वाचन आयोग, सुरक्षा निकाय र राष्ट्रसेवक कर्मचारीहरूको तयारीको सराहना गर्दै सरकारले निष्पक्ष, पारदर्शी र भयरहित मतदान सुनिश्चित गर्न आवश्यक सबै प्रबन्ध मिलाइएको जानकारी दिइएको छ।

सामाजिक सञ्जालमा फैलिन सक्ने भ्रामक सूचनाप्रति सचेत रहन आग्रह गर्दै उनले कानुनविपरीत गतिविधिमा संलग्न जो–कोहीलाई कारबाही गरिने चेतावनी दिइन्।

यसै अवसरमा होली (फागु पूर्णिमा) को शुभकामना दिँदै प्रधानमन्त्रीले पर्वलाई सभ्य र मर्यादित ढंगले मनाउन आह्वान गरिन्। “अरूको इच्छा र अधिकारको सम्मान गर्दै पर्व मनाऔँ,” उनले भनिन्।