काठमाडौँ — जेनजी आन्दोलनपछिको संवेदनशील राजनीतिक पृष्ठभूमिमा आज प्रतिनिधिसभा सदस्यका लागि देशभर मतदान भइरहेको छ। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएयताको यो तेस्रो संसदीय निर्वाचन हो।
निर्वाचन आयोगका अनुसार ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म एकै चरणमा मतदान सञ्चालन गरिएको छ। यसअघि २०७४ र २०७९ सालमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको थियो।
यस निर्वाचनमा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० सिटका लागि प्रतिस्पर्धा भइरहेको छ। प्रत्यक्ष प्रणालीमा ६५ राजनीतिक दल ६१ निर्वाचन चिह्नमार्फत चुनावी मैदानमा उत्रिएका छन्। यसतर्फ तीन हजार ४०६ उम्मेदवार छन्, जसमा तीन हजार १७ पुरुष, ३८८ महिला र एक जना अन्य उम्मेदवार समावेश छन्।
समानुपातिक प्रणालीमा भने तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्। जसमध्ये एक हजार ३६३ पुरुष र एक हजार १,७७२ महिला रहेका छन्।
कुल मतदाता संख्या एक करोड ८९ लाख तीन हजार ६८९ रहेको आयोगले जनाएको छ। तीमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य मतदाता छन्। थप रूपमा एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम गरिएका छन्।
देशभर १० हजार ९६७ मतदानस्थल अन्तर्गत २३ हजार ११२ मतदान केन्द्र स्थापना गरिएका छन् भने १४३ अस्थायी मतदान केन्द्र पनि सञ्चालनमा छन्। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा गर्भवती महिलालाई प्राथमिकता दिएर मतदान गराउने विशेष व्यवस्था मिलाइएको छ।
निर्वाचन सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षा निकाय परिचालन गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरीसहित कुल हजारौँ सुरक्षाकर्मी खटिएका छन्। निर्वाचन सम्पन्न गराउन दुई लाख १५ हजार कर्मचारी परिचालन भएका छन्।
प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गरी चार करोडभन्दा बढी मतपत्र छपाइ गरी सबै मतदान केन्द्रमा पुर्याइएको आयोगले जनाएको छ। यसपटक चार अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्थाले निर्वाचनको पर्यवेक्षण गरिरहेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव लगायत उच्च पदाधिकारीहरूले नागरिकलाई उत्साहपूर्वक मतदानमा सहभागी हुन आग्रह गरेका छन्।








