images
images

प्रतिनिधिसभा निर्वाचन सुरक्षामा कुनै कमी नहुने: राष्ट्रिय सुरक्षा परिषद्को निर्णय

काठमाडौँ — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गराउन आवश्यक सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएको निष्कर्ष निकालेको छ।

राष्ट्रिय सुरक्षा परिषद्को आज सिंहदरबारमा बसेको बैठकले निर्वाचन सुरक्षा व्यवस्थाको समग्र समीक्षा गर्दै कुनै किसिमको अभाव हुन नदिने निर्णय गरेको हो। बैठक परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो।

रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माका अनुसार बैठकले मुलुकभर शान्तिसुरक्षा र अमनचयन कायम राख्न सम्बन्धित सुरक्षा निकायलाई अझ प्रभावकारी र समन्वयात्मक रूपमा परिचालन गर्ने निर्णय गरेको छ।

बैठकमा राष्ट्रिय सुरक्षासम्बन्धी विद्यमान चुनौती, राष्ट्रिय, क्षेत्रीय तथा अन्तरराष्ट्रिय घटनाक्रमले पार्न सक्ने प्रभाव तथा भावी सुरक्षा रणनीतिबारे विस्तृत छलफल भएको जनाइएको छ।

बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्रमन्त्री बालानन्द शर्मा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, मुख्यसचिव सुमनराज अर्याल तथा प्रधानसेनापति अशोकराज सिग्देल सहभागी थिए।

परिषद्ले निर्वाचनको समयमा सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै आवश्यक सबै संयन्त्र उच्च सतर्कतामा राखिएको जनाएको छ।