काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज (फागुन २१) मतदान हुँदै छ । निर्वाचन आयोगले तोकेका मतदान केन्द्रहरूमा देशभर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न पाइनेछ ।
मतदान गर्न जाँदा मतदाताले परिचयपत्र खुल्ने कागजात बोकेर जानुपर्नेछ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएमा विभिन्न ६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न दिने व्यवस्था गरेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।
उनका अनुसार, निर्वाचन आयोगले उपलब्ध गराएको मतदाता परिचयपत्र भए सोही कागजात प्रयोग गर्नुपर्नेछ । उक्त परिचयपत्र नभएको अवस्थामा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र (लालपुर्जा)मध्ये कुनै एक कागजात साथमा लिएर मतदान गर्न सकिने व्यवस्था गरिएको उनले बताए ।
उनले भने, “मतदान गर्न जानुभन्दा अगाडि मतदाताले केही कुरामा विचार गर्नुपर्ने हुन्छ । आफ्नो मतदान केन्द्र थाहा भइसके पछाडि आफ्नो परिचय खुल्ने कागजात बोकेर जानुपर्ने हुन्छ । ती कागजातमा सबैभन्दा पहिले निर्वाचन आयोगले उपलब्ध गराएको मतदाता परिचयपत्र छ भने त्यही बोक्नुपर्ने हुन्छ, यदि त्यो छैन भने आफ्नो नागरिकताको प्रमाणपत्र अथवा राष्ट्रिय परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) मध्ये कुनै एउटा कागजात बोकेर मतदान गर्न जाँदा हुन्छ ।”
उनले मतदातालाई आफ्नो परिचय खुल्ने काजजात लिएर निर्धारित समयमा आफ्नै मतदान केन्द्रमा उपस्थित भई मतदान गर्न आग्रह गरे । आयोगका अनुसार, मतदानमा सहभागी हुनुअघि मतदाताले आफ्नो मतदान केन्द्र सुनिश्चित गरी परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ ।
यस्तै, मतदान केन्द्रमा पुगेपछि महिला र पुरुषका निम्ति छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ । मतदाताले सम्बन्धित लाइनमा बसेर आफ्नो पालोअनुसार मतदान गर्नुपर्नेछ ।
आयोगले शारीरिक रूपमा अशक्त व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला र आफैँले मतदान गर्न कठिनाइ हुने व्यक्तिहरूका निम्ति विशेष व्यवस्था गरेको छ । यस्ता मतदातालाई लाइनमा बस्नु नपर्ने गरी छुट्टै सहजीकरणको प्रबन्ध मिलाइएको सूचना अधिकारी घिमिरेले जानकारी दिए ।
शारीरिक रूपमा अशक्त व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला र आफैँले मतदान गर्न कठिनाइ हुने व्यक्तिहरूले मतदान अधिकृत, सहायक मतदान अधिकृत वा खटिएका कर्मचारी तथा स्वयंसेवकबाट आवश्यक सहयोग लिन सक्नेछन् ।
मतदान कार्यमा खटिएका कर्मचारीहरूलाई आयोगले पनि अशक्त तथा विशेष आवश्यकता भएका मतदातालाई सहज र सम्मानजनक वातावरणमा मतदान गराउने व्यवस्था मिलाउन निर्देशन दिएको घिमिरेले बताए ।
निर्वाचन आयोगले सबै मतदातालाई अनुशासित, मर्यादित र शान्तिपूर्ण रूपमा मतदान प्रक्रियामा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न आह्वान गरेको छ । न्युज एजेन्सी नेपाल








