चितवन — प्रतिनिधिसभा निर्वाचनमा पराजयपछि रेनु दाहालले मतदाताप्रति आभार व्यक्त गर्दै चितवनको विकास र जनताको हितका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
चितवन–३ बाट उम्मेदवार बनेकी दाहालले सामाजिक सञ्जालमार्फत जनताले दिएको अमूल्य मतप्रति सम्मान व्यक्त गर्दै निर्वाचन परिणामलाई स्वीकार गरेको बताएकी छन्। उनले आफूले काममार्फत जनताको मन जिते पनि मत जित्न नसकेको उल्लेख गर्दै विजयी उम्मेदवार सोविता गौतमलाई बधाई दिएकी छन्।
दाहालले करिब तीन दशकको राजनीतिक जीवनमा भरतपुरको विकास, समृद्धि र सुशासनका लागि नौ वर्ष ऊर्जा समर्पित गरेको उल्लेख गर्दै जनताको आवश्यकता र चाहना पूरा गर्नु नै आफ्नो मुख्य सपना रहेको बताइन्।
उनका अनुसार विकासका लागि आवश्यक नीतिगत सुधार आवश्यक ठानेर आफूले भरतपुर महानगरपालिकाको प्रमुख पदमा १५ महिना कार्यकाल बाँकी हुँदाहुँदै राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएको बताएकी छन्।
निर्वाचन परिणामपछि पनि चितवनवासीको मत खेर नजाने विश्वास व्यक्त गर्दै उनले आगामी दिनमा चितवनको थप विकास र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन्।
दाहालले निर्वाचनमा आफूलाई विश्वास गरेर मतदान गर्ने सम्पूर्ण मतदाताप्रति कृतज्ञता व्यक्त गर्दै अभियानमा सक्रिय रुपमा खटिने पार्टीका नेता–कार्यकर्ता, समर्थक, शुभेच्छुक, सञ्चारकर्मी तथा कलाकारप्रति पनि विशेष धन्यवाद दिएकी छन्।
उनले चितवनवासीको हक–हित, विकास र समृद्धिका लागि आफू निरन्तर साथमा रहने प्रतिबद्धता दोहोर्याएकी छन्।







