काठमाडौं — आम निर्वाचनको पछिल्लो परिणाम र रूझानअनुसार उल्लेख्य सफलता हासिल गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति नेता शरतसिंह भण्डारी ले हार्दिक शुभकामना व्यक्त गरेका छन्।
आइतबार सार्वजनिक गरेको आभार–विज्ञप्तिमार्फत भण्डारीले आफूलाई विश्वास गरेर मत दिने सम्पूर्ण मतदाताप्रति हृदयदेखि कृतज्ञता व्यक्त गरेका छन्। उनले मतदाताको माया, भरोसा र समर्थनले आफूलाई अझ जिम्मेवार बनाएको उल्लेख गरेका छन्।
घरदैलो अभियानका क्रममा गाउँ–टोल र बस्ती–बस्ती पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने अवसर पाउनु आफ्नो लागि महत्वपूर्ण अनुभव भएको उनले बताएका छन्। जनतासँग भएको विश्वासपूर्ण संवादप्रति उनले कृतज्ञता प्रकट गरेका छन्।
भण्डारीले सामाजिक तथा राजनीतिक चेतनाको विकाससँगै सधैं जनतामाझ रहेर काम गर्ने प्रयास गर्दै आएको उल्लेख गर्दै आफ्नो योगदान र समर्पणको थप मूल्याङ्कन समय र इतिहासले गर्ने विश्वास व्यक्त गरेका छन्।
आफू मधेशको माटोमा जन्मेर त्यहीँ हुर्किएको उल्लेख गर्दै उनले मातृभूमिप्रति जीवनभर ऋणी रहने बताएका छन्। मधेशका अधिकार, पहिचान र सम्मानका मुद्दामा निरन्तर संघर्ष गरेको तथा आफ्नो सामर्थ्य अनुसार विकासका अपेक्षा पूरा गर्ने प्रयास गरेको उनको भनाइ छ।
साथै उनले विगतमा अझ धेरै उपलब्धि हासिल गर्न सकिने भए पनि केही रणनीतिक तथा कार्यनीतिक कमजोरी भएको हुनसक्ने स्वीकार गरेका छन्।
मधेश आन्दोलन बाट प्राप्त संघीयता, समानुपातिक समावेशिता र पहिचानमा आधारित अधिकारजस्ता ऐतिहासिक उपलब्धिलाई थप सुदृढ र संस्थागत गर्नु आजको महत्वपूर्ण दायित्व भएको उनले बताएका छन्।
भण्डारीले वर्तमान जनादेशलाई केवल सत्ता परिवर्तन मात्र नभई जनताको मौन विद्रोहका रूपमा व्याख्या गर्दै यसले राज्यको सोच, कार्यशैली र प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने आशा व्यक्त गरेका छन्।
अन्त्यमा उनले जनताको माया, विश्वास र साथका लागि आफू सधैं ऋणी रहने बताएका छन्।







