काठमाडौं — प्रतिनिधि सभा सदस्य सुधन गुरुङले गोरखा जिल्लाका दुर्गम बस्तीहरूमा रहेको सञ्चार समस्यालाई समाधान गर्न पहल थालेका छन्।
बिहीबार उनले नेपाल टेलिकमको केन्द्रीय कार्यालय पुगेर आफ्नो निर्वाचन क्षेत्रका विभिन्न गाउँहरूमा मोबाइल तथा टेलिफोन सेवा विस्तार गर्न औपचारिक अनुरोध गरेका हुन्। गुरुङका अनुसार गोरखाका आरुघाट, बागुवा, फिनाम, थुमी, माझिखोला, डुल, सिरानचोक, लिथोडाँडा लगायतका ११ भन्दा बढी स्थान अझै पनि नेपाल टेलिकमको नेटवर्क पहुँचभन्दा बाहिर रहेका छन्।
उनले ती दुर्गम बस्तीका नागरिकहरू अहिलेको समयमा पनि सञ्चार सेवाबाट वञ्चित रहनु चिन्ताजनक विषय भएको बताएका छन्। सञ्चार सुविधा अभाव हुँदा स्थानीय बासिन्दाले दैनिक सूचना आदानप्रदानदेखि लिएर आकस्मिक अवस्थामा सहयोग माग्न समेत कठिनाइ भोग्दै आएको उनले उल्लेख गरे।
सांसद गुरुङले ती क्षेत्रमा यथाशीघ्र टावर स्थापना गरी नागरिकलाई सहज सञ्चार सेवामा जोड्न आग्रह गरेका छन्।
नेपाल टेलिकमका अधिकारीहरूले भने सम्बन्धित स्थानहरूको प्राविधिक अध्ययन गरी सम्भावित रूपमा सेवा विस्तार गर्ने विषयमा काम अघि बढाइने जानकारी दिएका छन्। सांसद गुरुङले आफ्नो कार्यकालको सुरुवातदेखि नै जनताको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।








