अमेरिकाले इरानमाथिको आक्रमणलाइ अब उसको आर्थिक केन्द्रहरुलाइ लक्षित गर्न थालेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार अमेरिकी सेनाले इरानको सर्वाधिक तेल निर्यात गर्ने स्थानका रुपमा रहेको खार्गस आइसल्यान्डमा बमबारी गरेको हो।
त्यहाँको इरानका सैनिक अड्डाहरू ध्वस्त पारेको जनाइएको छ। ट्रम्पले चेतावनी दिँदै आवश्यकता परे यस क्षेत्रको तेल पूर्वाधार (अयल इन्फ्रास्ट्रक्चर) पनि अर्को निशाना बन्न सक्ने बताए।
इरानको करिब ८०-९० प्रतिशत कच्चा तेल यही द्वीपबाट निर्यात हुने गर्दछ। यहाँ ठूला तेल टर्मिनल, पाइपलाइन, भण्डारण ट्याङ्क तथा जहाजमा तेल भर्ने आधुनिक सुविधा रहेका छन्। जानकारी अनुसार यहाँबाट दैनिक झन्डै ७० लाख ब्यारेल सम्म तेल जहाजमा लोड गर्न सकिन्छ।
यसैबीच अमेरिकाले इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी बारेमा जानकारी दिने व्यक्तिलाई १० मिलियन अमेरिकी डलर इनाम दिने घोषणा गरेको छ। यो घोषणा युनाइटेड स्टेट डिपार्टमेन्ट अफ स्टेट को ‘रेवार्ड फर जस्टिस’ कार्यक्रम अन्तर्गत गरिएको हो।
यस सूचीमा अली लर्जानी लगायत अन्य केही इरानी अधिकारीहरूको नाम पनि समावेश गरिएको जनाइएको छ। यसैबिच भारतको अथक प्रयास पछि इरानले दुई भारतीय ग्यास ट्याङ्करलाई स्ट्रेट अफ हर्मुजबाट पार हुन अनुमति दिएको बताइएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार स्रोतहरूको हवाला दिँदै दुई भारतीय एलपिजी ट्याङ्कर चाँडै होर्मुज मार्ग हुँदै भारततर्फ प्रस्थान गर्ने तयारीमा रहेका छन्। यसले घरेलु ग्यास आपूर्तिमा परेको दबाब कम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
रिपोर्टमा यो पनि उल्लेख गरिएको छ कि कच्चा तेल बोकेको अर्को ट्याङ्कर पनि करिब १ मार्चतिर होर्मुज स्ट्रेट पार गरिसकेको छ र साउदी अरेबियाको तेल लिएर शनिबारसम्म भारत पुग्न सक्ने सम्भावना रहेको जनाइएको छ।
यसअघि बिहीबार साँझ भारतका लागि इरानका राजदूत मोहम्मद फतालीले इरानले होर्मुज स्ट्रेटमा भारतलाई सुरक्षित मार्ग उपलब्ध गराउने बताएका थिए। उनले भनेका थिए ‘भारत र इरानबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध र आपसी विश्वास कायम रहेको छ।’








