काठमाडौँ– अमेरिका-इजरायल र इरानबीचको युद्ध आज १५औँ दिनमा पुगेको छ। युद्ध अहिले मध्यपूर्वका धेरै देशमा फैलिदा त्यसको असर विश्वभर देखिन थालेको छ। यसै क्रममा साउदी अरबको एक एयरबेसमा राखिएका अमेरिकी वायुसेनाका पाँच वटा विमान नष्ट भएका छन्। अमेरिकी अखबार ‘द वाल स्ट्रेट जोर्नल’ को रिपोर्ट अनुसार ती विमानहरू इन्धन भर्ने विमान हुन्।
रिपोर्टका अनुसार यी विमानहरूलाई इरानको आक्रमणमा क्षति पुगेको हो या दुर्घटना ग्रस्त भएका हुन् भन्नेबारे खुलाइएको छैन। साथै कहिले आक्रमणमा परेका थिए भन्ने बारेमासमेत जानकारी गराइएको छैन। यस विषयमा युएस सेन्ट्रल कमान्डले पनि कुनै आधिकारिक बयान जारी गरेको छैन। अर्कोतर्फ अमेरिकाको बगदादस्थित दुतावासमा बम प्रहार गरिएको जनाइएको छ। इरानले अमेरिकाका क्षेत्रीय स्थलहरुलाई आफ्नो निशाना बनाउँदै आएको छ।
यसअघि शुक्रबार इराकमा पनि अमेरिकी वायुसेनाको बोइङ केसी-१३५ रिफ्यूलिङ विमान नै दुर्घटनाग्रस्त भएको थियो। उक्त विमानमा रहेका छ जना क्रू सदस्य सबैको मृत्यु भएको जनाइएको छ। यो युद्धमा हालसम्म ११ जना अमेरिकी सैनिकले ज्यान गुमाइसकेका छन्। पछिल्लो घटनामा कति मारिए भन्ने विवरणहरु भने सार्वजानिक गरिएको छैन।
यसैबीच अमेरिकाले इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी बारेमा जानकारी दिने व्यक्तिलाई १० मिलियन अमेरिकी डलर (१ करोड अमेरिकी डलर) पुरस्कार दिने घोषणा गरेको छ। यो घोषणा युनाइटेड स्टेट डिपार्टमेन्ट अफ स्टेट को ‘रेवार्ड फर जस्टिस’ कार्यक्रम अन्तर्गत गरिएको हो। यस सूचीमा अली लर्जानी लगायत अन्य केही इरानी अधिकारीहरूको नाम पनि समावेश गरिएको जनाइएको छ।
इरानले अमेरिकाले इरानको तेल प्रसोधन केन्द्र र आसपासमा आक्रमण गरेको र आफ्ना सर्वोच्च नेताको जानकारी गराउनेलाइ पुरस्कार रकम घोषणा गरेपछि थप आक्रोश ब्यक्त गरेको छ। उसले यसको मुल्य अमेरिका र उसका सहयोगि देशले चुकाउनु पर्ने भन्दै तत्काल अमेरिका पछि हट्नु पर्ने बताएको छ।
अर्कोतर्फ युरोपेली नेताहरुले इरानसँग कुट्नीतिक वार्ताहरु सुरु गरेका छन्। उनीहरुले आफ्ना तेल वोकेका जहाजहरुलाइ ‘स्ट्रेट अफ हर्मुज’ बाट बिना अवरोध आउन दिनका लागि इरानलाइ मनाउने प्रयास गरीरहेका छन्।







