काठमाडौँ–प्रधानमन्त्री सुशीला कार्कीले प्रवासी नेपालीलाई नेपालका विकास परियोजना र लगानीमा सहभागी हुन आह्वान गरेकी छन्।
प्रधानमन्त्री कार्कीले गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशन तथा विश्व सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै प्रवासी नेपालीलाई नेपालको सद्भावना दूतको रूपमा चिनाउँदै उनीहरूको योगदान र आचरणले विश्वमा नेपालको सकारात्मक छवि फैलाउन सहयोग पुर्याइरहेको उल्लेख गरिन्।
उनले भनिन्, “जहाँ भए पनि तपाईँहरूले नेपालको गौरव, संस्कृति र पहिचान विश्वसामु चिनाउँदै आउनुभएको छ।”
साथै उनले नेपालको संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहित नागरिकताको व्यवस्था गरेको स्मरण गराउँदै यसले मातृभूमि र प्रवासीबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको बताइन्। यसले विदेशमा रहेका नेपालीलाई आफ्नो ज्ञान, सीप, अनुभव र पुँजी नेपालमा लगानी गर्ने अवसर पनि प्रदान गरेको उनले जोड दिइन्।
प्रधानमन्त्री कार्कीले उत्पादनमूलक क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्ने, प्रवासी नेपालीको लगानी सुरक्षित र पारदर्शी ढंगले परिचालन गर्ने तथा दीर्घकालीन लगानी संरचना निर्माण गर्ने नीति सरकारले प्राथमिकतामा राख्ने बताइन्। उनले प्रवासी नेपालीको लगानीले आर्थिक मात्र नभई सामाजिक पुँजी निर्माणमा पनि महत्त्वपूर्ण योगदान पुर्याउने उल्लेख गरिन्।
त्यसैगरी उनले एनआरएनएभित्रको विगतको विभाजन अन्त्य भई सबै एकै मञ्चमा उभिनु सकारात्मक भएको र सर्वसम्मत नेतृत्व चयनसँगै एकताको सन्देश विश्वभरका नेपालीहरूको भावनात्मक एकताको आधार बन्नुपर्ने बताइन्।






