images
images

वर्तमान संविधानप्रति रास्वपा प्रतिबद्ध छ, शासकीय स्वरूपमा सुधार आवश्यक: रवि लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी वर्तमान संविधान र राजनीतिक व्यवस्थाप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।

बुधबार पार्टीका सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमको समापन गर्दै उनले व्यवस्था र संविधानप्रतिको निष्ठामा कुनै शङ्का नगर्न आग्रह गरे।

संविधानमाथि प्रहार भइरहेको भन्दै विभिन्न क्षेत्रबाट चिन्ता व्यक्त भइरहेका बेला लामिछानेले रास्वपाको आधिकारिक धारणा सार्वजनिक गरेका हुन्।

सभापति लामिछानेले वर्तमान परिवर्तन र संविधान प्राप्तिका लागि पुराना राजनीतिक दल र नेताहरूले गरेको योगदानको कदर गर्नुपर्नेमा जोड दिए।

उनले भने, “विगतका बेथितिहरूमा हाम्रा प्रश्नहरू पक्कै छन्, तर इतिहासमा नेताहरूले दिएको त्याग र तपस्यालाई नजरअन्दाज गर्ने वा अपमानित गर्ने हक हामी कसैलाई छैन।”

उनले आफ्ना सांसदहरूलाई पनि पुराना नेताहरूको योगदानको सम्मान गर्दै अघि बढ्न निर्देशन दिए।

यद्यपि, वर्तमान शासकीय स्वरूपमा भने केही सुधारको आवश्यकता रहेको उनको तर्क थियो। संविधानप्रतिको प्रतिबद्धता अटल रहे पनि देशको सामर्थ्य र आवश्यकता अनुसार शासकीय स्वरूपलाई परिमार्जन गर्दै लैजानुपर्नेमा रास्वपा स्पष्ट रहेको उनले बताए।

“हाम्रो प्रतिबद्धता डगमगाएको छैन र डगमगाउने वाला पनि छैन, तर समयसापेक्ष सुधारका लागि हामी सधैँ सचेत छौँ,” लामिछानेले बताए।