images
images

खोटाङ हेलिकोप्टर दुर्घटना: घाइतेको खुल्यो परिचय, चार जना सकुशल

काठमाडौँ– बुधबार दिउँसो ११:५१ बजे खोटाङको केपिलासगढी गाउँपालिका- २ खार्ताम्छा बालावेसीमा भएको हेलिकोप्टर दुर्घटनामा घाइते भएकाहरूको परिचय खुलेको छ।

घाइते हुनेहरूमा हेलिकोप्टरमा सवार यात्रु ५० वर्षीय काजीबहादुर राई रहेका छन्। जिल्ला प्रहरी खोटाङकाअनुसार घाइते राईसँगै पाइलट सुजन थापालाई दुर्घटना लगत्तै अर्को हेलिकोप्टरबाट उद्धार गरी काठमाडौँ ल्याइएको छ।

पाइलट थापा घाइते भएका छैनन्। हेलिकोप्टरमा पाइलटसहित छ जना सवार रहेको र अन्य चार जना पनि सकुशल रहेको खोटाङ प्रहरीले बतायो।

एयर डाइनेष्टीको नाइन एन एएफक्यु  हेलिकोप्टर ल्याण्ड गर्दा दुर्घटनामा परेको थियो। दुर्घटनाबाट हेलिकोप्टर क्षेतिग्रस्त भएको छ।

वडा नम्बर २ का वडा सदस्य हरिचन्द्र राईकाअनुसार हङकङ बस्ने एक परिवारका सदस्यको मृत्यु भएपछि आफन्तीहरू हेलिकोप्टरबाट गाउँ आएका थिए।

मृतकको शव भने एम्बुलेन्सबाट ल्याइँदै गरिएको राईले बताए। ‘हङकङ बस्ने एक परिवारका सदस्यको मृत्यु भएपछि आफन्ती हेलिकोप्टरमा आएका हुन्। शव भने एम्बुलेन्समा ल्याइँदै छ’, उनले भने।