images
images

पर्यटक भिसामा आएका विदेशीलाई खेलमा सहभागी गराए कारबाही गर्ने अध्यागमनको चेतावनी

काठमाडौं– अध्यागमन विभागले पर्यटक भिसामा नेपाल आएका विदेशी खेलाडीलाई खेलकुदमा संलग्न नगराउन निर्देशन दिएको छ ।

अध्यागमन कानुन उल्लंघन हुने गरी पर्यटकलाई खेलकुदमा संलग्न गराएको पाइएपछि विभागले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र लेख्दै सचेत गराएको हो । अध्यागमन नियमावली २०५१ को २० मा भिसा प्राप्त गर्ने विदेशी नागरिकले जुन उद्देश्यले भिसा लिएको हो, सोबाहेक अन्य काम गर्न नपाउने उल्लेख छ। तर विभिन्न देशबाट पर्यटक भिसामा आएका विदेशी नागरिकलाई खेलकुदमा संलग्न गराएको भेटिएपछि विभागले एन्फालाई कानुनी प्रावधान सम्झाउँदै पत्राचार गरेको हो ।

विभागका निर्देशक टीकाराम ढकालले कुनै पनि खेलमा विदेशी खेलाडीलाई समावेश गराउनुपर्ने भएमा नियमअनुसार कार्यसहमति र श्रम स्वीकृति लिएर मात्र गर्न पत्र पठाइएको बताए ।

‘सो सम्बन्धमा यस विभागबाट आजैदेखि अनुगमन प्रारम्भ भएको हुँदा स्वीकृति नलिएका विदेशी खेलाडीहरु भिसाको उद्देश्यविपरीत कुनै खेलमा सहभागी भएको पाइएमा तत्काल कारबाही अगाडि बढाइने बेहोरा निर्यणाअनुसार जानकारी गराइन्,’ निर्देशक ढकालले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विभागले यसको बेहोरा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्‌लाई समेत बोधार्थका रुपमा पठाएको छ ।

अध्यागमनको निर्णयविपरीत सहभागी गराए त्यस्ता विदेशीलाई जरिवाना असुलेर उनीहरुकै देश निष्कासन गर्न सकिने व्यवस्था अध्यागमन कानुनमा छ ।