काठमाडौं – लुम्बिनी बौद्ध विश्वविद्यालयले स्नातकोत्तर तहमा ड्रोनसँग सम्बन्धित नयाँ कोर्स सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयले पहिलोपटक ‘अनम्यान्ड एयरक्राफ्ट सिस्टम, एभिएसन एन्ड अपरेसन म्यानेजमेन्ट’ विषयमा अध्ययनका लागि आवेदन खुलाएको हो ।
‘स्कुल अफ डेभलपमेन्ट स्टडिज एन्ड अप्लाइड साइन्स’ का सहप्राध्यापक डा. वसन्त पौडेलका अनुसार उक्त कार्यक्रमका लागि आवेदन दिने अन्तिम म्याद १४ चैत सम्म तोकिएको छ । यो कोर्समा ड्रोनको इन्जिनियरिङ, सञ्चालन र व्यवस्थापनका विभिन्न पक्ष समेटिएका छन् ।
६० क्रेडिट आवरको यो कार्यक्रम चार सेमेस्टर, दुई वर्षमा पूरा हुन्छ । प्रत्येक सेमेस्टरमा १५ क्रेडिट आवर रहने व्यवस्था गरिएको छ । पहिलो सेमेस्टरमा ड्रोनको आधारभूत ज्ञान, एभिएसन सिद्धान्त, एयरफ्रेम संरचना, बजार अवस्था, कानुनी प्रावधान र सुरक्षा विषय समेटिनेछ ।
दोस्रो सेमेस्टरमा पर्यटन, स्वास्थ्य, विकास र विपद् व्यवस्थापनमा ड्रोनको प्रयोग, फ्लाइट अपरेसन, नेभिगेसन तथा कम्युनिकेसन सिस्टमबारे अध्ययन गराइनेछ ।
तेस्रो सेमेस्टरमा जीआईएस, रिमोट सेन्सिङ, डेटा प्रोसेसिङ, उद्धार तथा ढुवानी, पर्यटन व्यवस्थापन र ड्रोन निर्माणसम्बन्धी विषय समावेश छन् ।
चौथो सेमेस्टर भने पूर्ण रूपमा अनुसन्धान र थेसिसमा केन्द्रित हुनेछ, जहाँ इन्टर्नसिपको अवसर पनि दिइनेछ ।
यो कार्यक्रम कुनै पनि विषयमा स्नातक उत्तीर्ण विद्यार्थीका लागि खुला छ । न्यूनतम २ जीपीए वा ५५ प्रतिशत ल्याएका विद्यार्थीले आवेदन दिन सक्नेछन् । इन्जिनियरिङ पृष्ठभूमि नभएका विद्यार्थीलाई समेत लक्षित गरेर कोर्स डिजाइन गरिएको छ ।
यो कोर्स पूरा गरेपछि कृषि, स्वास्थ्य सेवा, विपद् उद्धार, ढुवानी, पर्यटन प्रवद्र्धन र म्यापिङ क्षेत्रमा काम गर्न सकिने विश्वविद्यालयको भनाइ छ । साथै, स्वदेशमै ड्रोन निर्माण गर्न सक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
कार्यक्रममा ८० प्रतिशत प्रयोगात्मक र २० प्रतिशत सैद्धान्तिक अध्ययन हुनेछ । नेपालसहित फ्रान्स, चीन र भारतका विशेषज्ञहरूले अध्यापन गर्नेछन् । कक्षा अनलाइन र भौतिक दुवै माध्यमबाट सञ्चालन गरिनेछ ।
विश्वविद्यालयले यसै वर्षदेखि ‘इन्फर्मेसन टेक्नोलोजी एन्ड आर्टिफिसियल इन्टेलिजेन्स (एमआईटी एआई)’ कार्यक्रम पनि सुरु गरेको छ । यसमा डेटा एनालिसिस, मेसिन लर्निङ र सफ्टवेयरसम्बन्धी विषय पढाइनेछ । उक्त कार्यक्रमका लागि भने आईटी सम्बन्धी पृष्ठभूमि आवश्यक पर्नेछ ।
ड्रोन विषयको कुल शुल्क ४ लाख रुपैयाँ र एमआईटी एआईका लागि ३ लाख ५० हजार रुपैयाँ तोकिएको छ । आवेदन दिएका विद्यार्थीहरूलाई प्रवेश परीक्षा र अन्तर्वार्ताबाट छनोट गरिनेछ ।
रूपन्देहीको देवदहस्थित विश्वविद्यालय परिसरमा कक्षा सञ्चालन हुनेछन् । हाल आवासीय सुविधा नभएकाले विद्यार्थीहरूले बसोबासको व्यवस्था आफैं गर्नुपर्ने विश्वविद्यालयले जनाएको छ ।








