काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपालीहरूको पुँजी, सीप र अनुभवलाई नेपालको आर्थिक विकास र समृद्धिसँग जोड्न आग्रह गरेका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवनिर्वाचित कार्यसमितिलाई शुक्रबार महासंघ सचिवालयमा स्वागत गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै गैरआवासीय नेपालीहरूको पुँजी, सीप र अनुभवलाई नेपालको विकासमा लगाउनुपर्ने बताए ।
उनले महासंघको पहलमा धेरै नीतिगत सुधारहरू भएकाले अब लगानीको लागि पनि सहज वातावरण बन्दै भएको धारणा राखे । “महासंघले नीतिगत तथा प्रक्रियागत जटिलता न्यूनीकरण गर्ने, वैदेशिक लगानी भित्र्याउन अनुकूल वातावरण निर्माण गर्ने तथा अन्य प्रक्रियागत सरलीकरणका विषयमा विषयमा नेपाल सरकारसँग धेरै ठूलो लविङ गरेर थुप्रै नीतिगत सुधारहरू गरेका छौँ । हामीले राम्रो सहकार्य गर्न सक्यौँ । नेपाल र नेपालीका लागि धरै गर्न सक्छौँ,” उनले भने ।
अध्यक्ष ढकालले पछिल्लो समय महासंघको पहलमा १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड स्थापना गरिएको र उक्त कम्पनीमार्फत ऊर्जा, पूर्वाधार, पर्यटन तथा अन्य उत्पादनशील क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने काम भइरहेको जानकारी दिए । यससँगै उनले एनआरएनएलाई कम्पनीमा लगानी गर्न तथा सम्भावित परियोजनाहरूमा सहलगानीका लागि पनि आग्रह गरे।
सो अवसरमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले गैरआवासीय नेपालीहरू पनि नेपालको विकासमा साझेदार बन्न चाहेको धारणा राखे । “विविध कारणले गैरआवासीय मुभमेन्ट कमजोर भएको अवस्था थियो । अहिले हामीले सर्वसम्मत रूपमा एकताको महाधिवेशन सम्पन्न गरेका छौँ । नेपाली डायस्पोरा एक हुँदा त्यसले दिने सन्देश र नेपालमा गर्ने कामबारे थप स्पष्टता हुनेछ । हामी हाम्रो ज्ञान सीप र पुँजीलाई नेपालको विकासमा लगाउन सक्छौं भन्ने नै हाम्रो पनि जोड हो,” उनले भने ।
सो अवसरमा महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले देशको आर्थिक समृद्धिका लागि लगानी आवश्यक भएको उल्लेख गर्दै नेपालका विभिन्न क्षेत्रमा एनआरएनहरूले लगानी गर्न सक्ने धारणा राखे ।








