इजरायल-अमेरिका र इरानबीचको जारी युद्धमा इरानले इजरायलमा अहिलेसम्मकै शक्तिशाली आक्रमण गरेको टाइम्स अफ इजरायलले जनाएको छ।
शनिबार इरानले गरेको आक्रमणका कारण दक्षिणी सहर डिमोना र अरादमा १०० भन्दा बढी मानिस घाइते भएका छन्, जसमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यी दुई आक्रमणबाट पुगेको क्षतिबारे गम्भीर प्रतिक्रिया दिँदै यस घटनालाई कठिन साँझका रूपमा लिएको बताएका छन्। उनले भने, “हाम्रो भविष्यका लागि भइरहेको अभियानमा हाम्रा लागि यो अत्यन्त कठिन साँझका रूपमा रह्यो।”
उनले डिमोना र अरादका मेयरहरूसँग आफूले कुरा गरेको बताउँदै सरकारका विभिन्न मन्त्रालयहरूलाई ती दुई सहरलाई आवश्यक सबै सहयोग उपलब्ध गराउन निर्देशन दिएको बताए। उनले भने, “हामी दृढताका साथ सबै मोर्चाबाट आफ्ना शत्रुमाथि प्रहार जारी राख्नेछौँ।”
स्थानीय समयअनुसार शनिबार साँझ इजरायली हवाई रक्षा प्रणालीले इरानका दुईवटा ब्यालिस्टिक मिसाइल रोक्न नसक्दा अहिलेसम्मकै ठूलो क्षति भएको हो। यी आक्रमणपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र इजरायल डिफेन्स फोर्स (आईडीएफ) का प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जामीरले इजरायल थप कडा आक्रमणका लागि तयार रहेको बताएका छन्।
दक्षिणी क्षेत्रमा भएका आक्रमणमा गम्भीर घाइते हुनेमध्ये डिमोनामा भएको विस्फोटका कारण छर्राले घाइते भएका केही बालबालिका समेत छन्। शनिबारभर डिमोना क्षेत्रमा इरानले पटक–पटक आक्रमण गरेको थियो।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार यी आक्रमणहरू इजरायलको आणविक अनुसन्धान केन्द्रलाई लक्षित गरी गरिएको हो। उक्त केन्द्र डिमोनाबाट करिब १० किलोमिटर र अरादबाट करिब ३० किलोमिटर टाढा रहेको बताइएको छ। यो आक्रमण सोही दिन बिहान इरानको नातान्ज युरेनियम प्रशोधन केन्द्रमा भएको अमेरिकी आक्रमणको प्रतिकारस्वरूप गरिएको दाबी गरिएको छ।
इरानले उक्त आक्रमणका लागि अमेरिका र इजरायललाई दोष दिएको छ, तर इजरायली सेनाले भने आफ्नो संलग्नता अस्वीकार गरेको छ। शिमोन पेरेस नेगेभ आणविक अनुसन्धान केन्द्रलाई इजरायलको लामो समयदेखि शंका गरिएको आणविक हतियार कार्यक्रमको महत्त्वपूर्ण हिस्सा मानिन्छ। यद्यपि, यसबारे इजरायलले आफ्नो नीतिअनुसार न पुष्टि गर्छ, न त अस्वीकार नै गर्छ।







