images
images

पोखरामा सहकारी ठगी प्रकरणः रवि लामिछानेविरुद्ध जाहेरी दिने व्यक्ति नै पक्राउ

पोखरा — रवि लामिछाने विरुद्ध उजुरी दिएका व्यक्ति नै सहकारी ठगी आरोपमा पक्राउ परेका छन्। कास्की प्रहरीले कृष्णप्रसाद जैशीलाई सोमबार नियन्त्रणमा लिएको हो।

जैशी आफूलाई सहकारी पीडितका रूपमा प्रस्तुत गर्दै आएका थिए र विभिन्न पीडित भेलामा सक्रिय देखिन्थे। तर, प्रहरीले उनलाई पोखरास्थित धनुस बचत तथा ऋण सहकारीसँग सम्बन्धित ठूलो रकम हिनामिना गरेको आरोपमा पक्राउ गरेको जनाएको छ। अनुसन्धान अनुसार सो प्रकरणमा कुल १२ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको देखिएको छ, जसमा जैशीमाथि ८३ लाख रुपैयाँ अपचलनको आरोप लागेको छ।

गण्डकी प्रदेशको सहकारी रजिस्ट्रार कार्यालयले दोस्रो चरणको छानबिनपछि आइतबार मात्र कारबाहीका लागि निर्देशन दिएको थियो। सोही निर्देशनको आधारमा प्रहरीले छिट्टै कदम चाल्दै अभियुक्तहरूलाई पक्राउ गरेको हो। घटनाबारे विस्तृत जानकारी भने अझै सार्वजनिक गरिएको छैन।

छानबिन प्रतिवेदनले सहकारीभित्र व्यापक आर्थिक अनियमितता भएको औँल्याएको छ। विभिन्न पदाधिकारी तथा सम्बद्ध व्यक्तिहरूबाट करोडौं रुपैयाँ हिनामिना भएको निष्कर्ष निकालिएको छ। इन्जिनियर असिम बराल, गमरेजजंग गुरुङ परिवार, व्यवस्थापक विराज सुवेदी, सचिव जगत पौडेल लगायतले समेत ठूलो रकम अपचलन गरेको प्रतिवेदनमा उल्लेख छ।

सहकारीका अध्यक्ष राजाराम सुवेदीले संस्थाभित्र बेथिति देखिएपछि स्वयंले छानबिनको माग गरेका थिए, जसपछि यो प्रकरण बाहिर आएको हो।

प्रहरीले अनुसन्धानलाई अझै अघि बढाउँदै अन्य संलग्न व्यक्तिहरूमाथि पनि कारबाही प्रक्रिया जारी रहेको जनाएको छ।