काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी चैत १२ गतेका लागि केन्द्रीय समितिको बैठक आह्वान गरेको छ।
पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सोही दिन अपराह्न ४ बजे काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय (घण्टी घर)मा बैठक बस्ने भएको हो।
बैठकको मुख्य कार्यसूची संसदीय दलको नेता चयन गर्ने रहेको छ। हालै सम्पन्न आम निर्वाचनमा रास्वपा प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल बनेसँगै संसदीय दलको नेता चयन प्रक्रियालाई विशेष महत्त्वका साथ हेरिएको छ।
पार्टी स्रोतका अनुसार यस बैठकले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई संसदीय दलको नेता चयन गर्ने सहमतिलाई औपचारिक रूपमा अनुमोदन गर्ने तयारी गरेको छ।
चैत १२ गते नै नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम तय भएकाले त्यसको लगत्तै बस्ने यस बैठकले आगामी सरकार गठन र राजनीतिक रणनीतिका विषयमा पनि छलफल गर्नेछ।
सभापति लामिछानेले पार्टीको साङ्गठनिक जिम्मेवारी सम्हाल्ने र वरिष्ठ नेता शाहले संसदीय मोर्चाको नेतृत्व गर्ने गरी भएको आन्तरिक सहमतिलाई बैठकले अन्तिम रूप दिने बताइएको छ।
यसका साथै बैठकमा पार्टीको आन्तरिक व्यवस्थापन, समसामयिक राजनीतिक परिस्थिति र आगामी चैत १३ गते हुने भनिएको प्रधानमन्त्रीको शपथ ग्रहणको तयारीका विषयमा समेत विविध छलफल हुने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
बैठकमा केन्द्रीय समितिका सबै पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ।








