images
images

ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबीच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने

काठमाडौ- ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा प्रतिष्ठानबिच आर्थिक रुपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरुमा मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

बैंकको कर्पोरेट कार्यालय कमलादीमा मंगलबार आयोजित एक समारोहमा बैंकका अध्यक्ष तथा नेपाल उद्मोग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइटको उपस्थितिमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले हस्ताक्षर गरेका छन्।

समझदारी अनुसार, तिलगंगा आँखा प्रतिष्ठानले ग्लोबल आइएमई बैंकको वित्तीय सहयोगमा सातै प्रदेशका सात स्थानमा आर्थिक रुपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरुको निःशुल्क रुपमा मोतिबिन्दुको पहिचान गरी शल्यक्रिया गर्ने छ ।

साथै, विद्यालयमा अध्ययनरत आर्थिक रुपमा कमजोर तथा विपन्न छात्रा/छात्रहरुको आँखा परिक्षण गरी आवश्यकता अनुसार निःशुल्क रुपमा चस्मा वितरण गरिने समेत समझदारी भएको छ ।

हस्ताक्षर समारोहमा सम्बोधन गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाकालदेखि नै नाफाको एक हिस्सा समाजलाई फिर्ता गर्ने परम्परालाई निरन्तरता दिँदै आएको बताए ।

उनले भने, “हामीले यो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई सातै प्रदेशमा समान रूपमा पुर्‍याउने प्रयास गरेका छौं, किनकि हाम्रो विश्वास छ— हामी जहाँ व्यापार गछौँ, जहाँबाट नाफा कमाउँछौँ, त्यहीँ समाजप्रति हाम्रो सबैभन्दा ठूलो दायित्व पनि रहन्छ ।”

उनले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकका ७७ वटै जिल्लामा रहेका आफ्ना शाखा कार्यलयमार्फत शिक्षा, स्वास्थ्य, वातावरण, मानवीय सहायता, दिगो विकास लक्ष्य तथा बेलाबेलामा आइपर्ने विभिन्न दैविक प्रकोपहरुमा उद्दार तथा राहतमा विभिन्न कार्यक्रमहरु गर्दै आएको बताए ।

त्यसैगरी, तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. रुइतले नेपाली बैंकसँगको सहकार्यमा अवसर र चुनौति दुवै रहेको बताउँदै ग्लोबल आइएमई बैंकसँगको सहकार्यलाई दिगो हुने गरी काम गर्ने बताए।

उनले आफूहरुले कुनै पनि कार्यक्रममा पारदर्शिता र चुस्त व्यवस्थापनमा जोड दिने गरेको पनि उल्लेख गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले नेपालकै ठूलो बैंक र तिलगंगाजस्तो प्रतिष्ठित संस्थाबीचको सहकार्यले बैंकलाई सामाजिक उत्तरदायित्वको कार्यक्रम सञ्चालन गर्न उत्साह मिलेको बताउँदै यस सहकार्यलाई आगामि दिनमा थप विस्तार गर्दै लैजाने बताए ।

हस्ताक्षर समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, बैंकका उच्च पदस्थ कर्मचारीलगायत प्रतिष्ठानका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३७९ एटिएम, १४७ शाखा रहित बैंकि∙ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान गैर नाफामुलक संस्थाको रुपमा सन् १९९२ मा दर्ता भई आँखा स्वास्थ्य सम्बन्धमा गुणस्तरीय सेवा, इन्ट्रा ओकुलर लेन्स उत्पादन, आँखा सम्बन्धि महत्वपूर्ण अनुसन्धानहरु, आँखा स्वास्थ्य सम्बन्धि शिक्षण, समुदाय आँखा कार्यक्रम तथा नेपाल आँखा बैंकमार्फत् नेपाल तथा विश्वस्तरमा विश्वसनीय आँखा स्वास्थ्य सेवा प्रदान गरिरहेको संस्था हो ।