काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १ सय ९१ दिने कार्यकाल पूरा गरी पदबाट बिदा भएका छन्।
बिहीबार गृह मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा उनले जेन–जी आन्दोलनपछिको सङ्कटपूर्ण अवस्थामा निर्वाचन सम्पन्न गराई संविधानलाई सही बाटोमा ल्याउन सफल भएको बताए।
२०८२ भदौ ३० मा कार्यभार सम्हालेका अर्यालले आफ्नो कार्यकालमा शान्ति सुरक्षाको सामान्यीकरण, सुशासन र निष्पक्ष निर्वाचनलाई मुख्य कार्यभार बनाएको बताए। उनले निर्वाचनलाई ‘स्वच्छ, निष्पक्ष, भयरहित र रक्तपातविहीन’ बनाउन आम नागरिक, सुरक्षाकर्मी र कर्मचारीको ठूलो योगदान रहेको उल्लेख गरे।
कार्यकालका दौरान जेनजी आन्दोलनका ४२ जना सुशासन योद्धा र ३ जना प्रहरीलाई शहीद घोषणा गरिएको, ७२९ जना घाइतेलाई राहत वितरण गरिएको र गम्भीर घाइतेहरूलाई मासिक भत्ताको व्यवस्था गरिएको जानकारी उनले दिए।
उनले निर्वाचनपश्चात संविधानले सही बाटो समातेको बताए।
नीतिगत क्षेत्रमा ऐतिहासिक रूपमा दुई दर्जन कानून तर्जुमा तथा संशोधन गरिएको र आन्दोलनमा क्षतिग्रस्त ४६५ सरकारी कार्यालयको पुनर्निर्माण गरी सेवा सुचारु गरिएको बताए।








