काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीले राजनीतिक प्रतिशोध र पूर्वाग्रहको झल्को दिएको बताएका छन् ।
यो घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको उनको भनाइ छ । नेपाल विगतमा राजनीतिक बन्दी नभएको देशका रूपमा राम्रो उदाहरण मानिए पनि पछिल्ला घटनाक्रमहरूले देशको राजनीतिक अवस्थाप्रति चिन्ता बढाएको उनले बताएका छन् ।
“बालेन सरकारद्वारा सुधन गुरुङजस्ता अनुभवहीन, अराजक र विवादित व्यक्तिलाई गृहमन्त्री बनाइएको तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको छ,” बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
सरकारी सम्पदा र सम्पत्ति जोगाउन नसक्ने, आफ्नै चौकी सुरक्षित राख्न नसक्ने प्रहरीहरू आज लोकतन्त्र प्राप्तिका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न हजारौं संख्यामा खटिएको देख्दा दुःख लागेको उनले टिप्पणी गरेका छन् ।
“प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न, एमालेको तर्फबाट आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी बनौँ,” उनले भनेका छन्, “अहिले बिहान ८ः३० बजे बस्ने सचिवालयको बैठकपछि कार्यक्रमबारे विस्तृत जानकारी दिइनेछ ।”








