काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा पार्टीले कानुनी तथा राजनीतिक रुपमा प्रतिवाद गर्ने भएको छ ।
आज बिहान पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
प्रत्येक जिल्ला सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने, भोलि १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने भएको छ । यस्तै, लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलसँग संवाद र सहकार्य तथा नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने बैठकले निर्णय गरेको पार्टी सचिव महेश बस्नेतले जानकारी गराए ।
यी हुन् निर्णयहरु :
१. आम जनसमुदाय , नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने।
२. प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने।
३. प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोधपत्र बुझाउने।
४. लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संबाद र सहकार्य गर्ने। नागरिक समाज र आम जनसमुदाय संग सहकार्य गर्ने।








